सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरमा कार्यरत कर्मचारीले लिए दोहोरो जिन्सी सुविधा

२०८१ असार १६, ०२:५४ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका कर्मचारीले दोहोरो जिन्सी सुविधा लिएको फेला परेको छ।

महालेखाको प्रतिवेदनमा उपमहानगरपालिकाका कर्मचारीहरूले दोहोरो जिन्सी बुझेको फेला परेको हो। महालेखाको प्रतिवेदनमा ल्यापटप, मोटरसाइकल र साइकल एक कर्मचारीले दुई वा दुईभन्दा बढी बुझेको उल्लेख छ। सार्वजनिक प्रतिवेदनमा सुरेन्द्रप्रसाद पन्तले २०७९ साउन २२ गते ल्यापटप लिएको उल्लेख गरिएको छ। योजना शाखा प्रमुखसमेत रहेका पन्तले फेरि २०८० असार २२ गते ल्यापटप बुझेका छन्।

२०७९ मा बुझेको ल्याप्टप फिर्ता गरेको अभिलेख महालेखाले प्राप्त गरेको छैन्। धनगढी उपमहानगरपालिकाबाट इन्जिनियर दीपक बोहराले २०८० असार १३ र २०८० मङ्सिर ४ गते दुई पटक ल्यापटप बुझेका छन्। उपमहानगरपालिकाको जिन्सी शाखामा पहिला लिएको ल्यापटप फिर्ता गरेको वा नगरेको विषयमा प्रमाण महालेखाले फेला पारेको छैन।

उपमहानगरपालिकाबाट हरिराम चौधरीले दुई पटक साइकल बुझेका छन्। उनले २०७४ असोज १ गते र अर्काे मितिसमेत उल्लेख नगरेर साइकल उपमहानगरपालिकाबाट लिएका छन्। धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्रबहादुर महराले तीनपटक मोटरसाइकल र दुई पटक ल्याप्टप बुझेका छन्। उनले २०७६ असार १५ गते, २०८० असार १७ गते र २०८० असार १७ गते गरेर तीन पटक मोटरसाइकल बुझेका हुन्।

उनले पहिला बुझेको मोटरसाइकल फिर्ता गरे नगरेको विषयमा खुलेको छैन। महराले २०७६ वैशाख १० र २०७९  जेठ १६ गरेर दुई पटक ल्यापटपसमेत धनगढी उपमहानगरपालिकाबाट लिएका छन्। उपमहानगरपालिकाबाट इन्जिनियर राजु खड्का, आन्तरिक लेखा परीक्षक अधिकृत लेखनाथ ओझा, राजस्व अधिकृत रमेश श्रेष्ठ र प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीले दोहोरो ल्यापटप बुझेका छन्।

इन्जिनियर खड्काले २०७८ जेठ १७ र २०८० असार २४ गते ल्यापटप बुझेका छन्। अधिकृत ओझाले २०७५ वैशाख २५ र २०७८ वैशाख १३ गते ल्याप्टप बुझेका छन्। यस्तै, राजस्व अधिकृत श्रेष्ठले २०७० पुस १२ र २०७९ पुस २६ गते ल्यापटप बुझेका छन्। सूचना अधिकारीसमेत रहेका प्रशासकीय अधिकृत कार्कीले २०७५ साउन ७ र २०७८ असार २९ गते ल्यापटप उपमहानगरपालिकाबाट बुझेका छन्।

लेखा अधिकृत मेम्वर सिंह र अधिकृत मोहनबहादुर खड्काले २ पटक साइकल बुझेका छन्। सिँहले २०५९ वैशाख २४ गते र २०७५ चैत १ गते उपमहानगरपालिकाबाट दुई पटक साइकल बुझेका हुन्। खड्काले २०७४ जेठ २३ र २०७६ चैत १ गते साइकल उपमहानगरपालिकाबाट लिएका छन्। उनीहरूले साइकल फिर्ता गरेको अभिलेख महालेखाले नपाएको हो।

धनगढी उपमहानगरपालिकाको जिन्सी सामाग्रीहरूको कर्मचारीहरूले दोहन गर्ने गरेको फेला परेको छ। उनीहरूले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७४ को नियम ९५ पालना नगरेका हुन्। कर्मचारीले प्रयोग गरेका मोटरसाइकल, ल्यापटप तथा साइकलको मूल्यको विषयमा भने महालेखाले उल्लेख गरेको छैन।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस