सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विपन्न परिवारका ३०७ सदस्यलाई दाहसंस्कार खर्च उपलब्ध

२०८१ असार १६, ०९:५६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न परिवारका सदस्यलाई दाहसंस्कार गर्न १५ लाख ३५ हजार रुपैयाँ उपलब्ध गराएको छ।

प्रतिपरिवार ५ हजारका दरले उपमहानगरपालिकाले तीन सय ७ जना मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको हो। उपमहानगरपालिकाले कुनै नगरवासीको मृत्यु भएमा मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउने काम गत वर्षको असोजदेखि गर्दै आएको छ।

उपमहानगरले कुनै व्यक्तिको मृत्यु भएमा दाहसंस्कारका लागि दाउरा खरिद गर्न परिवारलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने काम गर्दै आएको छ। विपन्न परिवारका सदस्यको मृत्यु हुँदा दाउरा किनेर दाहसंस्कार गर्नसमेत समस्या भोग्दै आएका विपन्न परिवारका सदस्यलाई उपमहानगरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।

दाउरा किन्न नसक्दा दाहसंस्कारमा समस्या भोग्नु नपरोस् भनेर विपन्न परिवारलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको हो। परिवारका सदस्य वा आफन्तको मृत्यु हुँदा आफ्नो पैसाले दाउरा किनेर दाहसंस्कार गर्न समस्या भएका विपन्न, असहायले टोल फ्री नम्बरमा फोन गरेर नगर प्रहरीलाई खबर गर्न सक्नुहुनेछ। वडासँगको समन्वयमा त्यतिबेलै घरमा गएर दाहसंस्कारका लागि पाँच हजार रुपैयाँ दिने निर्णय उपमहानगरले गरेको छ।

दाउरा किन्न नसक्दा टायर बालेर घाटमा लास जलाएको आफूले देखेको नगर प्रमुख गोपाल हमालले बताए। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म तीन सय ७ जना मृतकका परिवारलाई प्रतिपरिवार ५ हजारका दरले १५ लाख ३५ हजार रुपैयाँ उपलब्ध गराएको उपमहानगरपालिकाले जनाएको छ। यसका साथै ३ सय ३१ मृतकलाई उपमहानगरको झण्डा ओडाएर नगरप्रहरीले सलामी अर्पण समेत गरेको छ। नगरभित्र शववाहन र एम्बुलेन्स सेवा पनि उपमहानगरले निःशुल्क उपलब्ध गराउँदै आएको छ।

कमेन्ट लोड गर्नुस