धनगढीका २६ सामुदायिक विद्यालयमा पढ्ने १५ सय ४१ विद्यार्थी अनुत्तीर्ण
धनगढीः कैलालीको धनगढीमा सामुदायिक विद्यालयहरुमा पढ्ने ७३ प्रतिशत विद्यार्थी एसइईको परीक्षामा अनुत्तीर्ण भएका छन्।
धनगढी उपमहानगरपालिकाभित्रका २६ सामुदायिक विद्यालयका २१ सय १० परीक्षार्थी मध्ये ५ सय ६९ जना मात्रै पास भएका छन्। बाँकी १५ सय ४१ विद्यार्थी भने अनुत्तीर्ण भएका छन्। धनगढीका चार विद्यालयको मात्र ५० प्रतिशत नतिजा आएको छ। चार सामुदायिक विद्यालयको नतिजा १० प्रतिशतभन्दा कम आएको छ भने सात विद्यालयको नतिजा २० प्रतिशतभन्दा कम छ।
२०८० को एसइईमा धनगढी उपमहानगरपालिकाभित्रका २६ सामुदायिक विद्यालयका दुई हजार ११० विद्यार्थी सहभागी भएका थिए। जसमध्ये केबल ५६९ जना मात्रै पास भएका छन्। सामुदायिक विद्यालयमध्ये धनगढी–१२ को सिद्धनाथ माध्यमिक विद्यालयका ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सिद्धनाथलाई नगरपालिकाले गत वर्ष नमुना विद्यालय घोषणा गरेको थियो।
हसनपुरको पञ्चोदय माध्यमिक विद्यालयमा पढ्ने ५९ प्रतिशत विद्यार्थी सफल भएका छन्। धनगढी–१४ को सर्वोदय माध्यमिक विद्यालयबाट ५५ प्रतिशत उत्तीर्ण भएका छन् भने धनगढी–१६ को बेहडाबाबा माध्यमिक विद्यालयबाट ५३ प्रतिशत विद्यार्थी पास भएका छन्।
धनगढी–४ उत्तरबेहडीको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयबाट ४० प्रतिशत र बोराडाँडीको त्रिभुवन माध्यमिक विद्यालयबाट ३६ प्रतिशत विद्यार्थी मात्र पास भएका छन्। धनगढी–९ को भवानी माध्यमिक विद्यालयबाट ३३ प्रतिशत, धनगढी–१४ फूलबारीको पञ्चोदय माध्यमिक विद्यालय र धनगढी–२ को शारदा माध्यमिक विद्यालयबाट समान ३२ प्रतिशत विद्यार्थी पास भएका छन्।
धनगढी–१४ को जनजागृति र वडा नम्बर १२ को शारदा माध्यमिक विद्यालयबाट समान २९ प्रतिशत, वडा नम्बर ८ को धनगढी नमुना प्राविधिक विद्यालयबाट २६ प्रतिशत, वडा नम्बर ७ को राष्ट्रिय माध्यमिक विद्यालयबाट २२ प्रतिशत र त्रिनगर माध्यमिक विद्यलयका केबल २० प्रतिशत विद्यार्थी पास भएका छन्।
यसैगरी, धनगढी–११ को ठेकराज माध्यमिक विद्यालयका १७ प्रतिशत, मनेहराको सरस्वती माध्यमिक विद्यालयका १४ प्रतिशत, देवहरियाको शिव माध्यमिक विद्यालयका १३ प्रतिशत, जुगेडाको जनकल्याणका र वडा नम्बर १६ रामपुरको शिव माध्यमिक विद्यालय तथा फूलबारीको चन्द्रोदय माध्यमिक विद्यालयबाट समान १२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।
यसैगरी कैलाली गाउँको जनता राष्ट्रिय माध्यमिक विद्यालयबाट १० प्रतिशत विद्यार्थी सफल भएका छन् भने धनगढी–१९ फूलबारीको फूलबारी माध्यमिक विद्यालयका ८ प्रतिशत, वडा नम्बर ६ को वासुदेवी माध्यमिक विद्यालयका ६ प्रतिशत, वडा नम्बर १५ उर्मीको राष्ट्रिय माध्यमिक विद्यालयका ४ प्रतिश तथा धनगढी–१७ पथरीको भानु माध्यमिक विद्यालयका जम्मा ३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।