सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलीय संयन्त्रले गरेको थियो धनगढी पार्कको नाम परिवर्तन, को-को थिए संलग्न?

२०८१ असार १५, १२:१४ नारायण अवस्थी

धनगढीः २०६५ साल पुस १३ गते बसेको धनगढी नगर परिषद्को दोस्रो बैठकले वीरेन्द्र-ऐश्वर्य उद्यानसहित ऐश्वर्य स्कुल तथा क्याम्पस र त्रिभुवन माध्यमिक विद्यालयको नाम परिवर्तन गर्ने निर्णय गरेको तथ्य सार्वजनिक भएको छ।

धनगढी-२ सन्तोषीटोलका युवा प्रतिक जोशीले सूचनाको हक प्रयोग गरी मागेको नगर परिषद्को निर्णयमा २०६५ पुस १३ गते बसेको नगर परिषद्को दोस्रो बैठकमा राजा रानीको नाम भएका संस्थाको नामाकरण बदल्ने निर्णय गरिएको छ।

तत्कालीन कार्यकारी अधिकृत मुरारी नेपालको अध्यक्षतामा बसेको सात राजनीतिक दलको दलीय संयन्त्रका सदस्यहरू सम्मीलित बैठकमा वीरेन्द्र-ऐश्वर्य उद्यान, ऐश्वर्य स्कुल र  त्रिभुवन माध्यमिक विद्यालयको नाम परिवर्तन गर्ने निर्णय भएको हो।

बैठकमा काँग्रेसको तर्फबाट धनगढीका पूर्व नगर प्रमुख नृपबहादुर वड, माओवादीका टिकाराम सापकोटा, एमालेका रणबहादुर चन्द, जनमोर्चा नेपालका धर्मराज पाण्डे, नेपाल सद्भावना पार्टीका रामकान्त चौधरी, नेकपा मालेका धनबहादुर रोकाया, नेकपा एकीकृतका केबी मास्के र नेमकिपाका रत्नबहादुर शाही सहभागी थिए।

बैठकको निर्णय नम्बर १५ मा धनगढीमा रहेको वीरेन्द्र ऐश्वर्य पार्कको नाम भीम-दशरथ उद्यान राख्ने, ऐश्वर्य विद्या निकेतन र बोराडाँडीको त्रिभुवन माध्यमिक विद्यालयलाई नाम परिवर्तन गर्न पत्राचार गर्ने निर्णय गरिएको छ।
बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको भन्दै  अन्य ठाउँमा रहेका राजा र रानीको नामलाई समेत परिवर्तन गर्ने निर्णय गरिएको छ।

वीरेन्द्र-ऐश्वर्य पार्कको नाम बदल्ने निर्णय गैरकानुनी रुपले गरिएको तर्क प्रतीक जोशीले गरेका छन्। उनले कर्मचारीको नेतृत्वमा गैर निर्वाचित नगर परिषद्का सदस्यहरूको निर्णय सर्वसाधारणलाई मान्य नहुने तर्क गरेका छन्। पार्क स्थापना कालमा जे नाम राखिएको छ त्यही नाम राखिनुपर्ने माग जोशीले गरेका छन्।

नगर परिषदबाट निर्णय गराएर धनगढी पार्कको नाम परिवर्तन गरे पनि ऐश्वर्य स्कुलको नाम परिवर्तन गर्नुपर्ने भन्दै पत्राचार गर्ने मध्येका नृपबहादुर वड २०६४ मा नगर प्रमुख निर्वाचित भएका हुन् भने किशोरबहादुर बमपछि वड नै लगातार ऐश्वर्य विद्या निकेतनको व्यवस्थापन समिति अध्यक्ष छन्।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस