सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बहुतले ‘मल्टीस्टोरी’ पार्किङ बनाउन अध्ययन गरिने

२०८१ असार १५, ०९:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको प्रमुख विजनेश हव कैलालीको धनगढीमा मल्टीस्टोरी पार्किङ बनाउने अवधारण अघि सारिएको छ।

पार्किङको समस्यालाई मध्यनजर गर्दै यस प्रकारको पार्किङ बनाउन धनगढी उपमहानगरपालिकाले संभाव्यता अध्ययन गर्ने भएको हो। धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक निजी साझेदारी अवधारणमा सञ्चालन गर्ने गरेर मल्टीस्टोरी पार्किङ बनाउन संभाव्यता अध्ययन गरिने विषय समावेश गरिएको छ।

यसअघि उपमहानगरपालिकाले धनगढीको मध्य बजार क्षेत्र, मालपोत रोडमा बहुतले कार पार्किङको सम्भाव्यता अध्ययन र डिपिआर बनाउने प्रस्ताव नै गरेको थियो। मालपोत रोडमा रहेको कर्मचारी मिलन केन्द्रको जग्गामा बहुतले कार पार्किङको सम्भाव्यता अध्ययन र डिपिआर बनाउन उपमहानगरले नगर विकास कोषलाई प्रस्ताव गरेको थियो।

नगर कार्यपालिकाको निर्णयअनुसार नगर विकास कोषलाई बहुतले कार पार्किङ निर्माणको सम्भाव्यता अध्ययन र डिपिआर तयार गर्न प्रस्ताव गरिएको हो। धनगढीमा सवारी साधन पार्किङ गर्न समस्या हुने गरेको छ। सेती प्रादेशिक अस्पताल, सामाजिक विकास मन्त्रालय र विभिन्न सरकारी कार्यालय भएको मालपोत रोडमा पार्किङको आवश्यकता महसुस गरेर यस्तो योजना अघि सारिएको छ।

यसमा नगर विकास कोषले लगानी गर्ने इच्छा पनि देखाएको छ। त्यस्तै धनगढी उपमहानगरले फूलवारी बसपार्कलाई केन्द्र बनाएर विद्युतीय बस सञ्चालनका लागि पनि सम्भाव्यता अध्ययनसहित डिपिआर तयार गर्न नगर विकास कोषलाई यसअघि प्रस्ताव गरेको थियो। अध्ययनपछि हुलाकी सडक र ६ लेन सडकको अत्तरियासम्म विद्युतीय बस सेवा सञ्चालन गर्ने योजना उपमहानगरको छ।

कमेन्ट लोड गर्नुस