सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका ९ पालिका :  एकै वर्षमा इन्धन, मर्मत र खाना खर्च साढे तीन करोड

२०८१ असार १४, १०:१६ नारायण अवस्थी

धनगढीः बैतडीका ९ स्थानीय तहले एकै वर्षमा इन्धन, गाडी मर्मत र खाना तथा खाजामा साढे तीन करोडभन्दा बढी खर्च गरेका छन्। महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमा जिल्लाको सुर्नाया गाउँपालिका बाहेक अन्यले इन्धन खरिद, गाडी मर्मत र खाना तथा खाजामा ठूलो रकम खर्च गरेको उल्लेख छ। बैतडीका स्थानीय तहले आफ्नो आन्तरिक आयको अधिकांश रकम खाना, खाजा, इन्धन खरिद र गाडी मर्मतमा खर्च गरेको पाइएको छ।


शिवनाथ फजुल खर्च गर्नेमा पहिलो
बैतडीका १० स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाले इन्धन, सवारी साधन मर्मत र खना तथा खाजामा सबैभन्दा बढी खर्च गरेको हो। महालेखा परीक्षकको प्रतिवेदन २०८१ मा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा इन्धन खरिदमा ३२ लाख ६२ हजार ४५९ खर्च गरेको उल्लेख छ। यस्तै, पालिकाले सवारी साधन मर्मत शीर्षकमा २४ लाख ८७ हजार २८४ र खाना तथा  खाजा खर्चतर्फ एकै वर्षमा २६ लाख ९० हजार ४२२ रुपैयाँ खर्च गरेको छ। शिवनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा इन्धन खरिद, गाडी मर्मत र खाना तथा खाजामा ८४ लाख ४० हजार १६५ रुपैयाँ खर्च गरेको हो।

दशरथचन्दमा खाना र खाजामै साढे २४ लाख खर्च
दोस्रो नम्बरमा बढी खर्च गर्नेमा दशरथचन्द नगरपालिका देखिएको छ। दशरथचन्द नगरपालिकामा इन्धन खरिदमा ३० लाख ८२ हजार ९६ रुपैयाँ खर्च गरिएको छ। पालिकाले सवारी साधन मर्मतमा २१ लाख ५० हजार, खाना तथा खाजा खर्चमा थप २४ लाख ५० हजार सहित आर्थिक वर्ष २०७९/०८० मा ७६ लाख ८२ हजार ९६ रुपैयाँ खर्च गरेको छ।

तेस्रो नम्बरमा मेलौली नगरपालिका 
तेस्रो बढी खर्च मेलौली नगरपालिकाले एकै वर्षमा इन्धन, गाडी मर्मत र खाज तथा खानामा ७६ लाख ५३ हजार ४३२ रुपैयाँ खर्च गरेको छ। पालिकाले इन्धनमा ८ लाख ३० हजार ३८९ रुपैयाँ, सवारी साधन मर्मतमा १६ लाख ६० हजार ७७ रुपैयाँ र खाना तथा विविध खर्च भनेर ९ लाख ९३ हजार ६१० रुपैयाँ खर्च गरेको हो।

दोगदाकेदारले गर्‍यो ३२ लाख खर्च
जिल्लाको दोगडाकेदार गाउँपालिकाले खाना तथा विविध खर्च शीर्षकमा ८ लाख ६१ हजार ३७८ रुपैयाँ खर्च गरेको छ भने सवारी साधन मर्मतमा २३ लाख ४८ हजार ५८ रुपैयाँसहित कुल ३२ लाख ९ हजार ४३६ रुपैयाँ खर्च गरेको छ।

सिगास गाउँपालिकामा २६ लाख स्वाहा
यसैगरी, सिगास गाउँपालिकाले खाजा तथा खाना शीर्षकमा ६ लाख ७१ हजार ७८२ रुपैयाँ, सभा सञ्चालनमा ८ लाख २४ हजार १८ रुपैयाँ तथा सवारी साधन मर्मतमा ११ लाख २५ हजार ३८१ सहित जम्मा २६ लाख २१ हजार १८१ रुपैयाँ खर्च गरिएको छ।
पञ्चेश्वरमा करिब २० लाख  खर्च
पञ्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा इन्धन खरिदमा ८ लाख ३० हजार ३८९, सवारी साधन मर्मतमा १६ लाख ६० हजार ७७ र खाना तथा खाजामा ९ लाख ९३ हजार ६१० सहित जम्मा १९ लाख ९० हजार ७६ रुपैयाँ खर्च गरेको पाइएको छ।

डिलासैनीले गाडी भाडा  १९ लाख तिर्‍यो
यस्तै, डिलासैनी गाउँपालिकाले गाडी भाडा बापत १९ लाख ३८ हजार भुक्तानी दिएको छ भने पाटन नगरपालिकाले खाना, खाजा तथा सभा सञ्चालनमा १३ लाख ४९ हजार ५८६ रुपैयाँ खर्च गरेको छ। जिल्लाको पुर्चौडी नगरपालिकाले विविध शीर्षकमा ११ लाख ६३ हजार ११६ रुपैयाँ खर्च गरेको छ।
बैतडीका ९ स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा इन्धन खरिद, गाडी मर्मत र खाना तथा खाजामा ३ करोड ६० लाख ४७ हजार ८८ रुपैयाँ खर्च गरेका छन्। पालिकाहरूले आफ्नो आन्तरिक आयको ठूलो हिस्सा इन्धन, गाडी मर्मत र खाना तथा खाजामा खर्च गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८१ मा औल्याइएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस