सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका ९ पालिकाले खरिद गरे ऐनविपरीत झण्डै तीन करोडको औषधी

२०८१ असार १२, ०६:३८ नारायण अवस्थी

धनगढीः बैतडीका ९ पालिकाहरुले आर्थिक वर्ष २०७९/८० मा झण्डै तीन करोडको औषधी खरिद गरेका छन्। तर खरिद गरिएको सबै औषधि सार्वजनिक खरिद ऐनविपरीत भएको पाइएको छ।

कुल १० पालिका रहेको बैतडीमा ९ पालिकाले सार्वजनिक खरिद ऐनविपरीत औषधि औषधी गरेका हुन्। सार्वजनिक खरिद ऐन, २०६४ विपरीत पालिकाहरूले सोझै औषधी खरिद गरेको पाइएको हो। साथै पालिकामा आपूर्ति भएका औषधी र सर्जिकल सामग्री स्टोरमा दाखिला हुनुअघि स्पेसिफिकेसनअनुसार भए/नभएको परीक्षण समेत गरिएको छैन।

संघीय सरकारले सेवा तथा बस्तु खरिद गर्न सार्वजनिक खरिद ऐन, र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था गरेको छ। सरकारी निकायले बस्तु तथा सेवाको खरिद गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को पूर्ण पालना भने गर्न सकेका छैनन्। जसको ज्वलन्त उदाहरण स्थानीय तहले खरिद गर्ने बस्तु र सेवाको विवरण हेर्दा स्पष्ट हुन्छ।

महालेखा परीक्षकको प्रतिवेदन, २०८१ मा बैतडीका १० मध्ये ९ स्थानीय तहले औषधी खरिद गर्दा कानुनको पालना गरेका छैनन्। औषधी खरिद गर्दा  सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १ (क) मा २० लाख रुपैयाँसम्मको औषधीजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको समाचार पत्रमा सूचना प्रकाशन गरि तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ। तर बैतडीका स्थानीय तहहरूले उक्त प्रक्रिया बेगर सोझै औषधी खरिद गरेको पाइएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिकाले सार्वजनिक खरिद ऐनको प्रावधान विपरीत २९ लाख ७४ हजार ५९७ रुपैयाँको औषधि सोझै खरिद गरेको छ। खरिद गरिएका औषधि डब्लुएचओ सर्टिफाइड हुनुपर्ने, उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरि सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई राख्नुपर्नेमा त्यस्तो कुनै काम गरिएको छैन्।

सार्वजनिक खरिद ऐनको प्रावधान विपरीत २९ लाख ७४ हजार ५९७ रुपैयाँको औषधि सोझै खरिद गरिएको हो। डिलासैनी गाउँपालिकाले ३१ लाख ५७ हजार १४० रुपैयाँको औषधी खरिद गरेको छ। सो गाउँपालिकाले पनि सार्वजनिक खरिद ऐन, २०६४ को प्रावधानको पालना नगरेरै औषधी खरिद गरेको हो। दशरथचन्द नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २७ लाख ८९ हजार ३१५ रुपैयाँको औषधि खरिद गरेको छ। सो नगरपालिकाले पनि सार्वजनिक खरिद नियमावली अनुरुप औषधी खरिद नगरेको पाइएको हो।

सुर्नाया गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ३९ लाख ११ हजार ३७२ रुपैयाँको औषधी सोझै खरिद गरेको पाइएको छ। राष्ट्रिय स्तरको पत्रिकामा सूचना निकालेर टेण्डर तथा औषधी उत्पादन कम्पनीले तोकेको बिक्री मूल्यमा सोझै खरिद नगरेर विभिन्न सप्लायर्सबाट औषधी खरिद गरेको पाइएको हो। यसैगरी शिवनाथ गाउँपालिकाले २७ लाख ९० हजार ६८९, सिगास गाउँपालिकाले २६ लाख ७६ हजार ४७९ र पञ्चेश्वर गाउँपालिकाले १९ लाख १९ हजार ९११ रुपैयाँको औषधी सोझै खरिद गरेको छ।

जिल्लाको मेलौली नगरपालिकाले २८ लाख ६७ हजार ४०९ रुपैयाँको औषधी सप्लायर्सबाट खरिद गरेको छ। बैतडीमा पुर्चौडी नगरपालिकाले सबैभन्दा बढी मूल्य अर्थात् ४९ लाख ६२ हजार ५०८ रुपैयाँको औषधी खरिद गरेको छ। पुर्चौडीलगायतका स्थानीय तहले तोकिएको मापदण्ड विपरीत औषधी खरिद गरेको पाइएको हो। तर स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले भने बोलपत्र खोलेर रितपूर्वक औषधी खरिद गरेको दाबी गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस