सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स, विद्यार्थीका लागि रात्रिकालिन बजार

कैलालीमा पाँच पालिकाको आगामी नीति

२०८१ असार १२, ११:३२ खबर संवाददाता

धनगढीः कैलालीमा पाँचवटा पालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा नागरिकको जीवन रक्षादेखि रोजगारी सिर्जनासम्मका विषय समावेश गरिएको पाइएको छ।

धनगढी उपमहानगरपालिका, टीकापुर र गौरीगंगा नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले ‘एक विद्यालय, एक नर्स’, गर्भवतीलाई निःशुल्क एम्बुलेन्सदेखि रात्रिकालिन बजार सञ्चालन गर्नेसम्मका विषय आगामीको आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका हुन्।

गौरीगंगा नगरपालिकाले अपांगता भएका व्यक्तिले उत्पादन गरेका सामान खरिद गरिदिने भएको छ। नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामान खरिद गर्ने उल्लेख छ। सो नगरपालिकाले अनाथ बालबालिकाको अभिभावकत्व लिने नीति समेत लिएको छ।

यसका साथै गौरीगंगाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ। गर्भवतीलाई निःशुल्क एम्बुलेन्स कार्यक्रम जोशीपुर गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि राखिएको छ। जोशीपुरले हरेक वडामा माटो परीक्षण गर्ने कार्यक्रमसमेत ल्याएको अध्यक्ष चित्रबहादुर चौधरीले बताए।

त्यस्तै, टीकापुर नगरपालिकाले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र खोल्ने, अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा दिनेलगायत कार्यक्रम ल्याएको छ। जानकी गाउँपालिकाले पनि ‘एक विद्यालय, एक नर्स’, ‘एक वडा, एक नमुना विद्यालय’, ‘एक वडा, एक खेलमैदान’, पोषण कर्नर स्थापना, ‘एक वडा, एक सुपथ मूल्य सहकारी’जस्ता नीति समावेश गरेको छ।

यता धनगढी उपमहानगरपालिकाले युवालाई स्वरोजगार बनाउन धनगढीमा रात्रिकालीन बजार सञ्चालन गर्ने भएको छ। मेयर गोपाल हमालले बेरोजगार युवालाई पार्क मोडमा रात्रिकालीन बजार सञ्चालन गर्न दिने नीति ल्याएको बताए। त्यस्तै, धनगढीले ‘एक वडा, एक नमुना विद्यालय विकास कार्यक्रम’लाई निरन्तरता दिएको छ। नगरभित्रका तालतलैयाको अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउने, खोलानाला, जग्गालगायत सार्वजनिक सम्पत्तिको अतिक्रमण हटाउने नीति पनि समेटेको छ।

कमेन्ट लोड गर्नुस