सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीको बजेट ९७ करोड ४४ लाख

२०८१ असार १०, ०७:१५

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ नगर सभा तथा बजेट अधिवेशन बाट नीति कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो।

बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपप्रमुख गुलिया कुमारी चौधरीले आर्थिक वर्ष २०८१/८२ को ९७ करोड ४४ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी छन्। सङ्घ, प्रदेश र नगरपालिकाको प्रस्तुत कुल बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोत आय १२ करोड रुपियाँ मात्र रहेको छ।

आयतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १८ करोड ३० लाख, समपूरक अनुदान एक करोड ५० लाख, विशेष अनुदान ३ करोड ३५ लाख, ससर्त अनुदान ३९ करोड ३६ लाख र राजस्व बाँडफाँट १७ करोड ९५ लाख रुपैयाँ रहेको छ।

त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड ७५ लाख ५८ हजार, समपूरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान ५५ लाख, ससर्त अनुदान ५१ लाख ५५ हजार र राजस्व बाँडफाँट ६६ लाख ७४ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ।

चालु आर्थिक वर्षको भन्दा करिब तीन करोड बजेट घटेर आगामी वर्षको बजेट सार्वजनिक भएको छ। उपप्रमुख चौधरीले दिगो विकास, उत्पादनमा आत्मनिर्भर, रोजगारी सृजना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, सबैको स्वास्थ्यमा पहुँच, प्रविधि मैत्री सेवा बजेटको मुख्य उद्देश्य रहेको बताइन्।

नगरप्रमुख खडक बहादुर रावतले आगामी वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले नगरभित्रको कृषि, पशु, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, भौतिक विकास लगायत समग्र क्षेत्रलाई समेट्ने गरी तयार गरिएको नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस