सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा उसु प्रतियोगिता हुने

२०८१ असार १०, ०७:०१ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा उसु प्रतियोगिता हुने भएको छ। शिअ उसु क्वान (क्लब) धनगढीको आयोजनामा असार १४ देखि १६ गतेसम्म धनगढीमा उसु प्रतियोगिता हुने भएको हो।

सुदूरपश्चिम प्रदेश, खेलकुद परिषद्को सहयोगमा अन्तर प्रदेश क्वान (क्लब) स्तरीय उसु प्रतियोगिता हुने भएको छ। संयोजक पदमबहादुर ठकुल्लाले सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका क्लबहरुले प्रतियोगितामा भाग लिने बताएका छन्। शिअ उसु क्वानले ३० स्वर्ण र ५४ वटा कास्यका लागि २ सय जना खेलाडी धनगढी आउने बताएको छ। उसुका प्रशिक्षक रतन खातीले २५ किलोग्राम मुनिकोसमेत खेल हुने बताएका छन्।

खेलकुद परिषद्का सदस्य सचिव दीपक सिँहले उसुलाई १० औँ राष्ट्रिय खेलको तयारीका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उमेर समूहका खेलाडीको खोजीका लागि समेत प्रतियोगिता हुन लागेको उनले बताए। उनका अनुसार सुदूरपश्चिममा पहिलो पटक उसुको प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा सञ्जीवनी अस्पतालले बिरामीको उपचारमा ७० प्रतिशत छुट दिने बताएको छ। उसुका केन्द्रीय उपाध्यक्ष दुस्यान्त बस्नेतले ४० जना खेलाडीको एक वर्षको जीवन बिमासमेत गर्ने बताएका छन्। प्रतियोगिता सञ्चालनका लागि १६ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस