सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसको उत्तरी ककेससमा भएको आक्रमणमा १९ प्रहरीको मृत्यु

२०८१ असार १०, ०५:४४ खबर संवाददाता

एजेन्सीः रुसमा अपरिचित बन्दुकधारीले गरेको अन्धाधुन्ध आक्रमण र सुरक्षाकर्मीको प्रत्याक्रमणका क्रममा ठूलो हताहती भएको छ।

रुसको उत्तरी ककेसस गणतन्त्रको दागेस्तानमा प्रहरी चौकी, गिर्जाघर र एउटा सभाघरमा भएको आक्रमणमा १९ प्रहरी अधिकारी र धेरै सर्वसाधारणको मृत्यु भएको छ। छ जना बन्दुकधारी पनि मारिएको बीबीसीले जनाएको छ। कम्तीमा १६ जना घाइतेलाई अस्पताल लगिएको छ। चेचन्याको छिमेकी दक्षिणी रुसको मुस्लिम बहुल गणतन्त्र दागेस्तानमा तीन दिने शोकको घोषणा गरिएको छ।

पेन्टेकोस्टको अर्थोडक्स चाडमा डर्बेन्ट र मखाचकाला सहरलाई लक्षित गरी योजनावद्ध रुपमा गरिएको आक्रमणमा मारिएकामध्ये एक अर्थोडक्स पादरी फादर निकोलाई कोटेलनिकोभ पनि छन्। भिडिओ फुटेजमा कालो लुगा लगाएका मानिसहरूले प्रहरीको कारमा गोली हानेको देखिन्छ।

आक्रमणकारीले एउटा सभाघर र एउटा चर्चमा आक्रमण गरेर आगो लगाएका थिए। दागेस्तान विगतमा इस्लामिक आक्रमणको केन्द्र बनेको थियो। यद्यपि आक्रमणकारीको आधिकारिक रूपमा पहिचान गरिएको छैन। बन्दुकधारीहरू माखाचकला नजिकैको सेर्गोकालिन्स्की जिल्लाका प्रमुखका दुई छोरा पनि थिए। एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस