सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको अर्थतन्त्र ३.४१ प्रतिशतले बढ्ने, ६ अर्ब विकास बजेट खर्च नहुने

२०८१ असार ३, १०:५९ खबर संवाददाता

धनगढीः चालु आर्थिक वर्ष सकिन अब एक महिना पनि बाँकी छैन्। सुदूरपश्चिमको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भइसकेको छ।

आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले बजेट सार्वजनिक गर्दै गर्दा चालु आर्थिक वर्षमा उपभोक्ता मुल्यमा कुल गार्हस्थ्य उत्पादन ४ खर्ब ४ अर्ब २८ करोड रहने अनुमान गरेका छन्। जुन अनुमानित राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ७ दशमलव १ प्रतिशत हो। चालु आर्थिक वर्षमा सुदूरपश्चिमको अर्थतन्त्र ३ दशमलव ४१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।

गत वर्ष यस्तो वृद्धिदर केबल १ दशमलव ४२ प्रतिशत मात्र थियो। चालु आर्थिक वर्षमा कुल सरकारी खर्च २० अर्ब ५३ करोड २२ लाख ९२ हजार अर्थात विनियोजित बजेटको ७० दशमलव १६ प्रतिशत हुने संशोधित अनुमान छ। कुल सरकारी खर्चमध्ये चालुतर्फ ९ अर्ब ३६ करोड दुई लाख २८ हजार र पुँजीगत खर्च ११ अर्ब १७ करोड २० लाख ६४ हजार खर्च हुने संशोधित अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा संघीय सरकारको राजस्व बाँडफाँडबाट ७ अर्ब ३४ करोड ११ लाख २७ हजार र वित्तीय समानीकरण अनुदानवाफत ७ अर्ब ४५ करोड ५२ लाख ६३ हजार प्राप्त हुने संशोधन अनुमान गरिएको छ।

त्यस्तै रोयल्टीतर्फ एक अर्ब ५० करोड परिचालन हुने अनुमान गरिएकोमा २०८१ जेठ मसान्तसम्म एक अर्ब १२ करोड ८६ लाख असुल भएर चालु आवको अन्त्यसम्ममा एक अर्ब ४० करोड प्राप्त हुने प्रदेश सरकारको अनुमान छ। राजस्व बाँडफाँड, वित्तीय समानीकरण अनुदान, रोयल्टी र आन्तरिक राजस्व परिचालनबाट १७ अर्ब ३५ करोड ७५ लाख २० हजार प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै चालु आर्थिक वर्षमा ३ अर्ब ८६ करोड ६७ लाख २४ हजार बचत हुने अनुमान गरिएकोमा उक्त रकम चार अर्ब ५६ करोड एक लाख ९१ हजार कायम भएको छ। समपुरक अनुदान संघीय सरकारबाट जेठ मसान्तसम्म ५७ करोड ९५ लाख, विशेष अनुदान ४६ करोड ५० लाख र ससर्त अनुदान २ अर्ब ८९ करोड ११ लाख ६७ हजार प्रदेश सरकारले प्राप्त गरेको छ।

कमेन्ट लोड गर्नुस