सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीका किसानलाई चैते धान भित्र्याउने चटारो

२०८१ जेठ २८, ०४:५४ रासस

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ। उनले पाँच कठ्ठा जमिनमा चैते धान लगाएका छन्। चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दैआएका  छन्।

बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उनले बताए। “अर्को  वर्ष एक बिघामा चैते धान लगाउने सोच छ”, चौधरीले भने। चैते धान लगाएको सुुरुको वर्ष पाँच कठ्ठामा १० क्विन्टल उत्पादन भएको उनले बताए। बर्खे धान सो  जग्गामा ६ क्विन्टल उत्पादन भएको थियो। खानमा मिठो र उत्पादन बढी हुुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको चौधरीको भनाइ छ।

चौधरीले जस्तै घोडाघोडी नगरपालिकाका ९० किसानले पाँच सय २१ कट्ठामा यस वर्ष चैते धान लगाएका छन्। कतिपय किसानले चैते धान भित्र्याइसकेका छन्। कोही भित्र्याउने तयारीमा छन। किसानलाई प्रोत्साहन गर्न घोडाघोडी नगरपालिकाले चैते धान खेती गर्नेलाई पुरस्कृत समेत गर्दैआएको छ।

पालिकाभित्रका चैते धान रोप्ने ९०  किसानलाई प्रतिकट्ठा पाँच सयका दरले पुरस्कृत गरिएको कृषि शाखा प्रमुख जनकसिंह धामीले बताए। पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीय रुपमै उत्पादन गर्न सकिने खाद्यान्नको समेत आयात बढ्दै जान थालेकाले किसानलाई प्रोत्साहित गरी उत्पादनमा जोड दिइएको उनले बताए।

घोडाघोडीसँगै कैलालीका अन्य पालिकाका किसान पनि चैते धान खेतीतर्फ आकर्षित भएका छन्। बर्सेनि बाढीका कारण बर्खे धान भित्र्याउन नपाएपछि सो क्षेत्रका बासिन्दा चैते धान लगाउन थालेका हुन्। पछिल्लो समय कैलालीका किसान चैते धान खेतीतर्फ आकर्षित हुँदै गएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए। उनका अनुुसार भजनी र टीकापुर नगरपालिकाका साथै जोशीपुर र कैलारी गाउँपालिकामा विगतदेखि नै चैते धान खेती लगाउने गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस