सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रीमा नियुक्त भएको बारे डाक्टर तारा जोशी अनविज्ञ

२०८१ जेठ २८, ०४:२० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीले आफू मन्त्री नियुक्त भएको थाहा नभएको बताएका छन्।

जोशीले मन्त्री नियुक्त भएको समाचार आए पनि त्यो विषयमा आफू अनविज्ञ रहेको बताएका हुन्। डडेलधुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर जोशीले सरकारमा सहभागी हुनेर नहुने विषयमा भने थप कुरा केही पनि बताएका छैनन्। मन्त्रालय फुटाउने कुरामा असहमति राख्दै आएका उनले मन्त्री नहुने जनाएका हुन्।

जबकी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। ६ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। सोडारीले जोशीसहित ८ जनालाई मन्त्री नियुक्त गरेका हुन्।

स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन्।

यस्तै, एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई भने बिना विभागीय मन्त्रीमा नियुक्त गरी शपथका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरिएको छ।

नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ५ बजे तय गरिएको छ। सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए। 

कमेन्ट लोड गर्नुस