सुर्तीजन्य पदार्थ सेवनको असरबारे जनचेतना जगाएर नियन्त्रण गर्न आवश्यक छ : स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थ सेवनले पार्ने असरबारे जनचेतना जगाएर नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धुम्रपान नियन्त्रण गर्न कानूनले निषेध गर्नेभन्दा यसले पार्ने असरका बारेमा जनचेतना जगाएर नियन्त्रण गर्न आवश्यक रहेको बताउँदै सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा सकार बनाउन सबै जना स्वस्थ हुनैपर्नै बताए।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्नेसम्बन्धी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा मन्त्रालयले उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
यस्तै उक्त कार्यक्रममा सहभागि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सुर्तीजन्य पदार्थ सेवनका कारण मुटु तथा मिर्गौला क्यान्सर जस्ता नसर्ने रोगको सङ्ख्यामा वृद्धि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने जनचेतना जगाउनु आवश्यक रहेको बताए।
अहिले नेपालमा किशोरकिशोरीले धूमपानको बढी सेवन रहेको विभिन्न तथ्याङ्कले देखाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन्। यसको ४८ प्रतिशत पुरुष रहेका छन् भने १४ प्रतिशत महिला रहेका छन्।
सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्से्िन नेपालमा २५ हजारको अकालमा मृत्यु हुने गरेको छ। चिकित्सकहरुका अनुसार सुर्तीजन्य पदार्थ चुरोट, पान, गुट्खा, बिँडी, हुक्का सेवनले फोक्सोमा धेरै समस्या निम्त्याउँछ।
यसले सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पल्मनरी डिजिज) दम, क्यान्सर तथा क्षयरोगको जोखिम गराउँछ। धूमपानका सात प्रकारका हानिकारक रसायन हुने र तीमध्ये ६९ प्रकारका क्यान्सरजन्य रसायन हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।




