सुदूर नेपाललाई विश्वसँग जोड्दै

बन्द भएका उद्योग सञ्चालन गरेर रोजगारी दिन्छौं: उद्योग मन्त्री भण्डारी

२०८१ जेठ २७, ०४:३० खबर संवाददाता

धनगढी: सरकार बन्द भएका उद्योगहरू सञ्चालन गरेर रोजगारीका अवसरहरू सिर्जना गर्नतिर लागेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन्। धनगढीमा आइतवारदेखि सुरु भएको श्रमाधान  रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। ‘यसअघिका मन्त्रीहरूले नेपालमा बन्द भएका उद्योगहरू अब सञ्चालनमा ल्याउन नसकिने भन्दै प्रतिवेदन बनाएर राखेका रहेछन्। मैले मन्त्रालयमा उद्योगहरूको अवस्था बुझ्ने क्रममा त्यस्तो पाएँ। तर, वर्तमान सरकार बन्द भएका उद्योगहरू सञ्चालन गरेर त्यसबाट रोजगारीको सिर्जना गर्ने तयारीमा छ,’ मन्त्री भण्डारीले भने। उनले कच्चा पदार्थ नपाएर बन्द भएका उद्योगहरू फेरि सञ्चालनमा ल्याउने दावी गरेका हुन्। 

उनले भने, ‘केही राम्रा राम्रा उद्योगहरू कच्चा पदार्थ नपाएर बन्द भएका छन्। कच्चा पदार्थ आपूर्तिका लागि ऐन नियमहरू बाधक थिए। मैले ८ वटा ऐन नियमहरू संशोधन गरेको छु। अब उद्योगहरूलाई आधुनिक तरिकाले सञ्चालन गर्न सकेमात्रै रोजगारीको सिर्जना गर्न सकिन्छ।’ 

उनले नवउद्यमीहरूलाई अगाडि ल्याउन ब्याजमा अनुदानका लागि १ अर्बको प्याकेज ल्याएको बताए। ‘उद्योग भएनन् भने देशको उत्पादन हुँदैन। अनि रोजगारी पनि हुँदैन। त्यसैले हामीले औद्योगिक ग्रामहरूलाई स्थानीय र प्रदेश सरकारसँग मिलेर प्राथमिकतामा राखेका छौं।’ उनले बैदेशीक रोजगारीबाट फर्केका युवाहरू,सिमान्तकृत युवाहरुलाई लक्षित गर्दै कार्यक्रम बनाएको बताए। 

धनगढीको ओम प्यालेसमा आयोजना गरिएको श्रमाधान मेलामा विभिन्न उद्योग, संघसंस्थाका स्टलहरु राखिएका छन्। रोजगारदाता र रोजगार खोज्नेका बीच पुलको काम गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो। आइतबारसम्म ५ हजार आवेदन परेको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस