माओवादीले देशभरका सामाजिक अभियन्तासँग अन्तरक्रिया गर्ने
नेकपा माओवादी केन्द्रको समाजकल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि’को अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्तामाझ बृहत्तर अन्तरक्रिया एवं भेला गर्ने भएको छ।
शुक्रवार र शनिवार काठमाडौंमा आयोजना गरिने भेलामा देशभरबाट तीन सयभन्दा बढी सामाजिक अभियन्ता सहभागी हुने विभागका प्रमुख सत्या पहाडीले बताए। ‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा, सामाजिक अभियन्ताको अर्थपूर्ण सहभागिता र हाम्रो प्रतिबद्धता’ नारामा आधारित भेलाले काठमाडौं घोषणापत्र जारी गर्ने बताइएको छ।
भेलाबाट सरकारले तय गरेको सामाजिक रुपान्तरणको अभियानमा सामाजिक सङ्घसंस्थालाई सहभागी गराउने र सरकारको नीति नियमभित्र रहेर सामाजिक अभियन्ताले राजनीतिक परिवर्तनको यात्रामा गरेको योगदान सँगसँगै बुझ्न पाइने प्रमुख पहाडीको भनाइ छ।