सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लागु औषधको खुलेआम कारोवारले सुरक्षा चुनौती बढ्दो

२०७६ जेठ १६, ११:३२ नवराज पनेरु

लागु औषध सेवन र कारोवार गर्नेहरु बढेसँगै विभिन्न खालका आपराधिक घटनाले सुदूरपश्चिममा सुरक्षा चुनौती पनि थपिँदै गएको छ। लागु औषध प्रयोगकर्ता बढ्दै जाँदा यसको कारोवार र सेवनमा संलग्न हुने पक्राउ पर्ने क्रम केही मात्रामा बढेपनि समस्या भने झन विकराल बन्दै गएको छ। लागु पदार्थ दुव्र्यसनीका कारण सुदूरपश्चिममा आपराधिक गतिबिधि बढेपनि नियन्त्रणमा प्रहरीको ध्यान केन्द्रित हुन सकेको छैन्। खुला सीमाको फाइदा उठाउादै भारतीय बजारमा गएर लागु औषध सेवन तथा ओसारपसार गर्ने र विभिन्न अपराधमा संलग्न भएका घटना बढेको प्रहरी अनुसन्धानले देखाएको छ। तर अपराधको मुख्य कारण नै प्रहरी रोक्न भने असफल हुँदै आएको छ। तर प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रहरी वरिष्ठ उपरिक्षक विक्रम चन्दले भने लागु औषध दुव्र्यशनी नियन्त्रण प्रहरीको प्रमुख प्राथमिकतामा रहेको दावी गर्छन्।

उनले दुव्र्यशनी नियन्त्रणका लागि प्रहरीले विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताए। विगतमा सयौँको संख्यामा लागु औषध  सेवनकर्ता रहेको कैलालीमा अहिले बढेर सात देखि आठ हजार सम्म पुगेको छ। कञ्चनपुर जिल्लामा पनि तीन हजारको हाराहारीमा लागु औषध सेवनकर्ता छन् भने पहाडी जिल्लामा सबैभन्दा बढि बझाङ जिल्लामा सेवनकर्ता रहेको देखिएको छ। सुदूरपश्चिममा मात्रै झण्डै १२ हजारको हाराहारीमा सेवनकर्ता रहेपनि प्रहरीले गत आर्थिक बर्षमा २ सय ३९ र चालु आर्थिक बर्षको १० महिनामा २ सय ३० जना पक्राउ परेका छन्। दार्चुला जिल्लामा पक्राउ हुनेको सङख्या शुन्य छ। लागु औषध नियन्त्रणका लागि कुनै पनि निकायले पहल नगरेकै कारण भायावह स्थिती आईरहेको धनगढीमा सुधार केन्द्र सञ्चालन गर्दै आएका रामवहादुर रजक बताउछन्।

प्रहरीले सेवनकर्तालाई पक्राउ गरेपनि विक्री गर्ने र ओसारपसारमा संग्लनलाई भने कारवाहीको दायरामा ल्याउन सकेको छैन्। सेवनकर्ताहरु भने हप्ता दुई हप्तामै प्रहरी हिरासतबाट मुक्त हुँदै आएका छन्। जसले गर्दा पछिल्लो समय सेवनकर्ता नै ओसारपसारमा पनि संग्लन हुने दर बढ्दो क्रममा छ। सेवनकर्ताले सूचना नदिएकै कारण कारोवारी पक्राउ गर्न असफल हुदै आएको दावी  लागु औषध नियन्त्रण व्यूरो सुदूरपश्चिम शाखाका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह कार्की गर्छन्। नेपाल भारतबीचको खुला सिमानाका कारण सीमासम्म सहज पहुँच हुँदा लागु औषधको कारोवार नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

आफ्ना साथीभाइको लहलहैमा लागेर र अभिभावकको उचित संरक्षण एवं रेखदेख नपाउदा युवाहरु कूलतमा फसिरहेका छन्। तर प्रहरीले लागु औसध नियन्त्रणका लागि पनि पर्याप्त प्रयास भने गरेको छैन्। कतिपयले त मादक पदार्थको सेवनको चेकजाँच जस्तै लागु औषधको समेत चेकजाँच हुनुपर्ने सुझाव दिएका छन्। विगतमा सुदूरपश्चिममा लागु औषध सेवकर्तामा युवाहरु मात्रै देखिएपनि पछिल्लो समय भने युवतीहरुको सङख्या बढ्दै गएको छ। लागु औषधले अपराधिक गतिविधि निकै बढाईरहेका बेला अव सुरक्षा निकाय र अन्य सरोकार राख्ने निकायहरुले लागु औषध नियन्त्रणका लागि छुट्टै अभियान चाल्न आवश्यक छ। 
 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस