सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरेमा स्वास्थ्य केन्द्र निर्माणमा विवाद, काम रोक्न अदालतको आदेश

२०८१ जेठ १७, ०७:१९ खबर संवाददाता

धनगढीः कैलालीको चुरे गाउँपालिका स्वास्थ्य इकाइ केन्द्र निर्माणमा विवाद भएको छ। जिल्लाको चुरे गाउँपालिका–६ मा बर्थिङ सेन्टरसहितको स्वास्थ्य केन्द्र निर्माणको विवाद अदालतसम्म पुगेको हो।

जिल्ला अदालत, कैलालीले बुधवार चुरे गाउँपालिका–६ ओखल ढुङ्गामा केन्द्र निर्माण नगर्न अन्तरिम आदेश दिएको छ। चुरे गाउँपालिका–६ शान्ति नगरमा रहेको केन्द्रको सेवा ओखल ढुङ्गा सार्न खोजिएको भन्दै स्थानीय पुरन सिजापति मगर र भक्तबहादुर बोहराले अदालतमा निवेदन दिएका थिए। उनीहरूको निवेदनको आधारमा बिहिवार काम रोक्न जिल्ला अदालत, कैलालीले अन्तरिम आदेश दिएको छ। आदेशमा भनिएको छ, ‘निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए, सो को आधार, प्रमाणसहित आफै वा कानुन बमोजिम प्रतिनिधि मार्फत यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनको एक÷एक प्रति प्रतिलिपि समेत साथै राखी प्रत्यार्थीहरूलाई सूचना दिई रितपूर्वक तामेल गराई जवाफ परे वा पर्ने अवधि व्यतित भएपछि नियमानुसार गरी पेश गर्नू।’

चुरे गाउँपालिका–६ का अध्यक्ष प्रेमबहादुर साउँदसहितको गत फागुन २६ गतेको बैठकले शान्तिनगरमा केन्द्रको भवन निर्माण गर्ने निर्णय गरेको थियो। तर, फागुन २८ गते केन्द्रको नयाँ भवन ओखल ढुङ्गा भन्ने स्थानमा सर्न खोजिएको भन्दै अदालतमा निवेदन परेको हो।

फाया नेपाल, धनगढीले चुरेमा बर्थिङ सेन्टरसहितको केन्द्रको भवन निर्माण गर्दै छ। फाया नेपालको झण्डै एक करोड ५० लाखको लागतमा चुरेमा केन्द्रको भवन निर्माण हुने भएको हो। तर, केन्द्रको भवन निर्माण हुने स्थानको विषयमा विवाद भएपछि काम रोकिएको चुरे गाउँपालिकाले बताएको छ।

 

 

 

कमेन्ट लोड गर्नुस