सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा इन्डो–नेपाल कराँते प्रतियोगिता सुरु

२०८१ जेठ १७, १२:३२ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा बिहिवारबाट मुख्यमन्त्री १० औं इन्डो–नेपाल कराँते प्रतियोगिता सुरु भएको छ। नेपाल र भारतका ४ सय बढी खेलाडीहरूको सहभागितामा दुई दिने प्रतियोगिताको मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले उद्घाटन गरे।

दक्षिण भारत, हरियाणा, दिल्ली, पंजाव, उत्तराखण्ड, विहार लगायतका ठाउँबाट एक सय बढी विदेशी खेलाडी प्रतियोगिता खेल्न धनगढी पुगेका छन्। नेपालका ३ सय ८६ जना खेलाडी सहभागी छन्।

क्याडेड, जुनियर र सिनियर तर्फका खेलहरू खेलाईने आयोजक राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले जनाएको छ। संघका प्रकाश चन्दले कोभिडका कारण ४ वर्षदेखि रोकिएको १० औं संस्करण अहिले भएको बताए। यस प्रतियोगिताको पहिलो संस्करण २०६२ सालमा धनगढीमा भएको थियो।

चन्दले यो प्रतियोगिताबाट उदाएका खेलाडीहरू राष्ट्रिय पदक विजेतासम्म भएको बताए। जुनियर खेलाडीलाई सिनियरको खेल हेरेर सिक्ने मौका मिल्ने उनले बताए।

विदेशी खेलाडीसँगको प्रतिस्पर्धाले आत्मबल बढ्ने प्रशिक्षक अर्जुन सिंहको भनाई छ।

‘फरक– फरक ठाउँमा फरक तरिकाले खेलिन्छ, उनीहरूका तरिका सिक्न पाइन्छ,’उनले भने। उनका चार जना प्रशिक्षार्थी ३० र ५० केजी समूहमा फाइट गर्ने छन्।

भारतको पंजावबाट आएका छोरीलाई ल्याएर आएका पूर्व भारतीय सैनिक वलदेव सिंहले यो प्रतियोगितामा आफ्नो छोरीलाई सहभागी गराउन पाउँदा खुसी लागेको बताए। उनकी छोरी ३० केजी समूहमा फाइट गर्दैछिन्। उनकी छोरी देवेन्द्रसंग स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म खेलेको अनुभव छ। पहिलो पटक अन्तरराष्ट्रिय खेल्न उनी नेपाल आएकी हुन्।

प्रतियोगिताका लागि एक सय बढी अफिसियल र रेफ्रीहरू धनगढी आएका छन्।

 

कमेन्ट लोड गर्नुस