सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिगका लागि सम्झौता

२०८१ जेठ १३, ०७:४० खबर संवाददाता

काठमाडौँः नेपाल भलिबल सङ्घ र केडिया अर्गनाइजेसन प्रालिबीच नेपाल पुरुष भलिबल फ्रेन्चाइजी लिगको आयोजन गर्ने विषयमा सम्झौता भएको छ।

नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालिका प्रबन्ध निर्देशक विमलकुमार केडियाबीच आज यहाँ आयोजित एक कार्यक्रममा पुरुष फेन्चाइजी लिग आयोजना गर्ने विषयमा हस्ताक्षर गरे। उक्त सम्झौता सात वर्षका लागि हुनेछ। सझौताअनुसार केडिया अर्गनाइजेसनले प्रत्येक वर्ष भलिबल सङ्घलाई ३५ लाख उपलब्ध गराउनेछ।

नेपाल भलिबल सङ्घले नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज लिग गर्न प्रयास गरेको सङ्घका अध्यक्ष चन्दले बताए। उनले उक्त प्रतियोगिता आगामी माघ÷फागुन महिनामा आयोजना गर्ने योजना रहेको बताउँदै उक्त प्रतियोगितको सम्पूर्ण व्यवस्थापन केडिया अर्गनाइजेसनले गर्ने उल्लेख गरे।

होम एन्ड अवेका आधारमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न सात टोलीलाई सहभागिता गराइने तयारी रहेको आयोजकले जनाएको छ। त्यसैगरी केडिया अर्गनाइजेसनका प्रबन्ध निर्देशक केडियाले भलिबल खेलको विकासका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गदै भलिबल राष्ट्रिय खेल भएकाले यसको विकास र विस्तार हुनुपर्नेमा जोड दिए।
 

कमेन्ट लोड गर्नुस