सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्यान्सर स्क्रिनिङ शिविर चेकजाँचमा १८ जनाको पाठेघरमा समस्या

२०८१ जेठ १२, ०६:४१ नारायण अवस्थी

धनगढीः पछिल्लो समय पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग महिलाहरु जुधिरहेका छन्। समग्र स्वास्थ्य, प्रजनन् र दीर्घायुको लागि महत्त्वपूर्ण पाठेघरको हेरचाहमा विशेष ध्यान नदिंदा विभिन्न रोगको जोखिम हुन्छ।

महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुन्छ। पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या देखिन्छन्।
धनगढी उपमहानगरपालिका–१२ मा आयोजना गरिएको क्यान्सर स्क्रिनिङ शिविरमा  ९० जनाको पाठेघरको चेकजाँच गर्दा १८ जनामा समस्या देखिएको छ।

शिविरमा आएका पाठेघरको चेकजाँच गराउने ९० जनामा एक जनामा पाठेघरको मुखको क्यान्सर पोजिटिभ देखिएको छ। यस्तै, समान ६/६ जनामा अङ खस्ने र पाठेघरको मुखको संक्रमण भएको पुष्टि भएको छ। यसैगरी शिविरमा आएका मध्ये ५ जनामा पाठेघरको मुखमा मासु पलाउने समस्या देखिएको विपी कोइराला क्यान्सर अस्पतालका उपनिर्देशक डाक्टर उमेश नेपालले बताए।

‘धनगढी–१२ जुगेडाको शिविरमा २६८ जनाको स्वास्थ्य परीक्षण गर्दा ९० जनाको पाठेघरको परीक्षण गरिएको हो’, उनले भने, ‘त्यसमध्ये एक जनामा पाठेघरको क्यान्सर पोजेटिभ देखिएको छ भने ६ जनाम  आङ खस्ने, ५ जनामा पाठेघरको मुखमा मासु पलाउने र ६ जनामा पाठेघरको मुखमा संक्रमण भएको पाइएको छ।’

वडा नम्बर १२ को क्यान्सर स्क्रिनिङ शिविरमा ९० जनाको भिडियो एक्सरे गरिएको छ। जसमध्ये ५ जनाको पित्तथैलीमा ढुङ्गा भेटिएको छ भने शिविरमा पुराना क्यान्सरका बिरामीको समेत चेकजाँच गरिएको छ। चितवन गएर उपचार गराएका बिरामीको समेत पुनः परीक्षण गरिएको  डाक्टर नेपालले बताए। स्वास्थ्य अवस्था थाहा पाउन वर्षमा दुई पटक र कम्तिमा एक पटक सामान्य स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकले बताएका छन्।

शरीरका विभिन्न भागमा विभिन्न किसिमको क्यान्सर नफैलियोस भनेर सामान्य स्वास्थ्य परीक्षण अनिवार्य गराउनुपर्ने चिकित्सकहरुले बताएका हुन्। यस्तै, पिसाबमा रगत देखा पर्नासाथ चेकजाँच गर्नुपर्ने डाक्टर नेपालले बताए। ‘युरोलिजीको कुरा गर्ने हो भने पिसाबमा रगत देखिना साथ क्यान्सर हुने सम्भावना हुन्छ, त्यसैले तुरुन्तै चेकजाँच गराउनुपर्छ’, उनले भने, ‘शरीरका अन्य भागमा पनि क्यान्सर विकास नहोस् भनेर वर्षमा दुई पटक नभए कम्तिमा एक पटक सामान्य स्वास्थ्य परीक्षण गराउँदा रोगको सम्भावित संक्रमणबाट बच्न सकिन्छ।

तसर्थ अनिवार्य नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक छ।’ शुक्रवार धनगढी–१२ नवदुर्गा आधारभूत विद्यालय जुगेडा ‘बी’ गाउँमा सञ्चालन भएको निःशुल्क क्यान्सर स्क्रिनिङ शिविरमा २३८ महिला ३० पुरुष गरेर २६८ जनाले सेवा प्राप्त गरेका छन्। उपचार गराउन आएका ६ जना शंकास्पदलाई थप उपचारका लागि रेफर गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस