सुदूर नेपाललाई विश्वसँग जोड्दै

भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते

२०८१ जेठ १२, ०५:५७

भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा भएको आगलागीमा १४ जनाको मृत्यु र अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ।

मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो। यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले बताएको छ। भियतनाम समाचार एजेन्सीका अनुसार राति करिब १२ः३० मा आगो लागेको थियो र धेरै विस्फोटको आवाज पनि सुनिएको थियो। आगो निभाउन एक घन्टा लागेको थियो।

आगलागीको समयमा उक्त भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्ने गरी २४ जना रहेको सञ्चारमाध्यमले बताएको छ। घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको हनोई ट्रान्सपोर्ट अस्पतालमा उपचार भइरहेको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार विद्युतीय बाइकको बिक्री र मरम्मत गर्नका लागि ग्यारेजका रूपमा प्रयोग गरिएको भवन नजिकैको सानो आँगनमा आगो लागेको थियो। पछि प्रहरीले गल्लीलाई घेरा हालेको थियो । अपार्टमेन्टमा जलेका मोटरसाइकलहरू र रुखहरू जलेका अवशेष तथा छरिएका सामानहरू थिए।

मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप एक हजार नौ सय ६२ डलर र घाइतेलाई एक हजार एक सय ७७ डलर दिने अधिकारीहरूले बताएका छन्। यो आगलागीले गत वर्ष सेप्टेम्बरमा हनोइमा भएको आगलागीलाई सम्झना गराउँछ। उक्त समयमा ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको थियो। सो बेला पनि उद्धार कार्यमा साँघुरो गल्लीले अवरोध पुर्याएको थियो।

कमेन्ट लोड गर्नुस