सुदूर नेपाललाई विश्वसँग जोड्दै

लालझाडी संरक्षीत क्षेत्रमा अनुमती विना दर्जनौँ रुख काटिए, मन्त्री र सासंदको समेत मिलेमतो

२०७६ जेठ १४, ०७:४९ जनक विष्ट

सुदूरपश्चिम प्रदेशको वन मन्त्रालय र टिम्बर कर्पोरेशनको मिलेमतोमा सांसदको फार्मलाई ठेक्का पारेर काठ दाउरा कटानीमा अनियमिता भइरहेको पाईएको छ। वन मन्त्रीको निर्देशनमा निकटका व्यक्तिलाई टिम्बर कर्पोरेशनमा भर्ना गरेर मासिक तलब भत्ता खुवाईरहेका बेला कमिशनको चलखेलमा काठ कटानीमा पनि अनियमितता भइरहेको हो। कञ्चनपुरको लालझाडी संरक्षीत क्षेत्रमा कटान आदेश नपाएका दर्जनौँ रुख काटिएको फेला परेको छ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, टिम्बर कर्पोरेशन र काठ व्यवसायीको मिलेमतोमा लालझाडी मोहना संरक्षित वनमा कटान आदेश नपाएका रुख समेत काटिएको फेला परेको हो। डिभिजन वन कार्यालयसंगको सम्झौता अनुसार टिम्बर कर्पोरेशन धनगढी शाखाले कञ्चनपुरका प्रदेश सांसद श्यामलाल राना सञ्चालक रहेको शिवशक्ति समिल तथा फर्निचर उद्योगसंग ठेक्का सम्झौता गरी कटान आदेश नपाएका दर्जनौँ रुख काटेर घाटगद्दी गरेको पाईएको हो।

वन डिभिजन कार्यालय महेन्द्रनगरले छपान नलगाएका ढलापडा र सुख्खड खडा गरी एक दर्जन रुख काटिएको दावी गरेपनि उक्त वनमा दर्जनौँ रुख काटिएको स्रोतले जनाएको छ। तर प्रदेशका वन मन्त्री माया भट्ट, नेकपाका नेताहरुले दबाब दिएपछि धेरै रुखहरु गायब पारिएको स्रोतको दावी छ। वनका कर्मचारीलाई दबाब दिएर टिम्बर कर्पोरेशनले घाटगद्दी गरिसकेका रुखको वनको गस्ती टोलीले बरामद गरेको भन्दै बरामदी मुचुल्का बनाउन लगाएर निकटका व्यक्तिलाई जोगाउने चलखेल भएको छ।

तर डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी गोपाल जोशीले छपान नलगाएका रुख काटिएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।  डिभिजन वन कार्यालय स्रोतका अनुसार कटान छपान आदेश विपरीत काटिएका रुखको मुद्दा अगाडी नबढाउन भन्दै सुदूरपश्चिमकी वन मन्त्री माया भट्ट र नेकपाका उच्च पदस्थ नेताले ठुलो दबाब दिएका छन्। तर स्थानीयको व्यापक विरोध आएपछि अहिले भने दबाबकै कारण शब्दमा खेलेर निकटका व्यक्तिलाई जोगाउन कोसिस भइरहेको छ।

टिम्बर कर्पोरेशनले यसअघि नै काठको घाटगद्दी गरेर गोलियामा नम्बर समेत लगाईसकेको छ तर मन्त्री र नेताको दबाबमा  अहिले आएर पिपरिया शव डिभिजन वन कार्यालयको गस्ती टोलीले काठ बरामद गरेको उल्लेख गरिएको छ। तर टिम्बर कर्पोरेशन महेन्द्रनगरका प्रमुख खेमराज जोशीले भने छपान नलगाएका रुख काटिएको विषयमा अध्ययन भइरहेकाले कर्मचारी वा ठेकेदार कसको संलग्नता छ भन्ने विषयमा त्यसपछि मात्र खुल्ने उल्लेख गरे।

टिम्बर कर्पोरेशन धनगढी शाखाले गत बैशाख ३ मा नेपाली कांग्रेसका तर्फबाट कञ्चनपुरका समानुपातिक प्रदेशसभा सदस्य श्यामलाल राना सञ्चालक रहेको शिवशक्ति समिल तथा फर्निचर उद्योगसंग नौरंगादेखि पिपरैया सम्मको वन क्षेत्रमा ढलापडा र सुख्खड खडा रुख काट्ने सम्झौता गरेको छ। प्रती क्युफिट १ सय २३ का दरले गरिएको सम्झौतामा १६ हजार चार सय ८० क्युफिट काठ संकलन गरिने कुरा उल्लेख छ। त्यसमा लालझाडी संरक्षीत वनबाट मात्रै झण्डै साढे १० हजार क्युफिट काठ संकलन गर्ने लक्ष्य राखिएको छ।

मिलेमतोमा छपान नगरेका काठ समेत काटिएपछि अहिले घटना मिलाउने व्यापक चलखेल भइरहेको दावी गरिएको छ। छपान नलगाएका रुख काटिएको विषयमा प्रतिक्रिया माग्न खोज्दा काठ व्यवासायी समेत रहेका प्रदेशसभा सदस्य श्यामलाल राना सम्पर्कमा आएनन।  टिम्बर कर्पोरेशन धनगढीका प्रमुख अनिल राज पाण्डले छपान नलगाएका रुख काटिएको कुरा सत्य भएको बताए।

थप कुरा अनुसन्धानबाट खुल्ने उनी बताउछन्। डिभिजन वन कार्यालय कञ्चनपुरले टिम्बर कर्पोरेशनसंग छपान नगरेका रुख काट्नुको कारण बारे जवाफ माग गरेको छ भने पिपरिया शव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालमुकुन्द भट्टलाई अनुसन्धानको जिम्मा दिईएको छ। तर घटना मिलाउन वन मन्त्री भट्टदेखि उच्च पदस्थ नेताहरु लागि परेको वन स्रोतको दावी छ।
 
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस