सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा खानेपानी योजना सम्पन्न नहुदै भुक्तानी दिएर २७ लाख अनियमितता

२०७६ जेठ १४, ०४:४८ प्रकाश सिंह

बाजुरामा एक खानेपानी योजनामा २७ लाख बढि आर्थिक अनियमितता भएको छ। जिल्लाको हिमाली गाँउपालिका वडा नम्बर ६ को धीम गाँउको भेडेमुल खानेपानी योजनामा २७ लाख ८ हजार ६ सय ६३ रुपैया आर्थिक अनियमितता भएको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ। गाउँका झण्डै पाँच सय परिवारलाई लक्षित गरी निर्माण भइरहेको योजनामा उक्त रकम अनियमितता भएको भन्दै महालेखा परिक्षकको कार्यालयले अशुल उपर गर्न गाउँपालिकालाई निर्देशन दिएको छ।

 झुट्टा विल भरपाई पेश गरी बढि भुक्तानी लिएको पाईएपछि असुल अपर गर्न निर्देशन दिईएको हो। एक करोड बजेट रहेको सो योजनामा ५ प्रतिशत श्रमदान, कर्णाली रोजगार कार्यक्रम र गाँउपालिकाको समेत गरी ९३ लाख २३ हजार रकम भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ।  निर्माणाधिन अवस्थामै रहेका बेला भुक्तानी दिएर आर्थिक अनियमितता गरिएको स्थानिय गोरख बहादुर सार्कीले बताए।

उनले गाँउमा खानेपानी समेत नपुगेको बताउँदै गाँउपालिकामा योजना सम्पन्न भएर सबै रकम भुक्तानी दिईएको जनाए। उक्त योजनामा अझै ७ वटा धारा निर्माण गर्न बाँकी रहेको स्थानीयले बताएका छन्। यसैगरी पानी टयाङ्की, फलामको पाइप विछाउने काम गर्न बाँकी नै रहेको उपभोक्ता समितिकी कोषाध्यक्ष बटकला सार्कीले वताईन्।

  

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस