दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै
काठमाडौँः शुक्रवार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ। यद्यपि यो शुक्रवार कुनै नयाँ चलचित्रको प्रदर्शन गरिएको छैन। जेठमा दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै छन्। बाँकी तीन साता कुनै चलचित्रको प्रदर्शन तय गरिएको छैन्।
यही जेठ १० मा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ तथा जेठ २५ मा ‘लन्डन टू पेरिस’ र ‘गाउँ आएको बाटो’ चलचित्र प्रदर्शन हुँदैछ। जेठमा पाँच शुक्रवार भएता पनि दुई साता मात्र चलचित्रको भिडन्त छ। बिदा र उचित समय देखेर नै यी प्रदर्शन मिति घोषणा गरिएका हुन्।
‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले आफूले पहिले नै चलचित्रको प्रदर्शन मिति तय गरिएको बताए। उनले भने, “हामीले खाली समय हेरेर प्रदर्शन घोषणा गरेका हौँ, हामीले कसैसँग प्रतिस्पर्धा गर्न गएका होइनौँ, हामी विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने तयारीअनुरुप आएका हौँ।” उनले आफ्नो चलचित्रमा ‘टाइम लुप’ को नयाँ ‘कन्सेप्ट’ हेर्न पाइने बताए। सुयोग गुरुङले निर्देशन गरेकोे चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय रहेको छ।
सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन। विकास सुवेदीले लेखेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायतका कलाकारले अभिनय गरेका छन्।
जेठ २५ मा प्रदर्शन हुने चलचित्र ‘लन्डन टू पेरिस’ लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन भने ‘गाउँ आएको बाटो’ लाई नवीन सुब्बाले निर्देशन गरेका छन्। ‘लन्डन टू पेरिस’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का, निश्चल खड्का, गरिमा शर्मालगायत कलाकारले अभिनय रहेकोे छ। चलचित्र ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय देख्न पाइने छ।