सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा नगर क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन् हुँदै

२०८१ जेठ ५, १२:३१ कमल सावद

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गर्दै आएको छ।

गौरीगंगा नगरपालिका–३ शिवगंगा नदीमा डोजर लगाएर नदीजन्य पदार्थको दोहन गर्दै आएको हो। नगरपालिकाले डोजर र से १ ग १२४ र से १ ग १२५ नम्बरको टिप्पर प्रयोग गरेर मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गर्दै आएको छ। वडा नम्बर ३ को कार्यालयले ग्राभेलका लागि महेन्द्र राजमार्गको शिवगंगा पुलदेखि पाँच समय मिटर दक्षिणबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने काम गर्दै आएको छ।

वडा नम्बर ३ का सडकहरूमा ग्राभेल गर्न थालिएको वडासदस्यसमेत रहेका स्थानीय हरिराम आर्चायले बताए। उनले भने, ‘वडाका सडकहरूमा ग्राभेल गर्न खनेका हौँ। असार पनि सुरु हुँदैछ। बर्खामा हिलो हुन्छ। हतार–हतारमा काम गर्दैछौ। महेन्द्र राजमार्गबाट पाँच सय मिटर तल खन्न पाउने भनियो। त्यही कारणले मैले नै खन्न भनेको हुँ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जिल्ला समन्वय समितिहरू र स्थानीय तहहरूलाई पठाएको मापदण्ड विपरीत गौरीगंगा नगरपालिकाले नदीजन्य पदार्थको दोहन गर्दै आएको छ। ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्डको दफा ४ (१०) मा घना बस्ती र वन क्षेत्रको २ किलोमिटर, राजमार्गको पाँच सय मिटर दूरी भित्रको नदी, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन् र सङ्कलन गर्न पाइने छैन भनिएको छ।

तर, गौरीगंगा नगरपालिकाले शिवजगंगा नदीको सडक पुलबाट पाँच सय मिटर तल डोजर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् गर्दै आएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले नदीे सङ्कलनको जिम्मा स्थानीय सरकारको भएको बताए। उनले भने, ‘स्थानीय तहहरूले नदीको सङ्कलन गर्नुपर्ने हो। उहाँहरूबाटै मापदण्ड विपरीतको काम नहुनुपर्ने हो। के भएको रहेछ? प्रहरीलाई पठाउछु।’

जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुषालले गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेललाई फोन गरेपछि डोजरसहितका टिप्पर पुलबाट एक किलोमिटर तलको दुरीमा लगिएको थियो। नगर प्रमुख कडेलले वडाका जनप्रतिनिधिहरू, डोजरका चालक र टिप्परका चालकहरूलाई मापदण्डको विषयमा जानकारी नभएकाले यस्तो भएको बताए।

उनले भने, ‘उहाँहरूले पुलबाट पाँच सय मिटर तल सोच्नु भएको रहेछ। पाँच सय मिटर जतिमा खन्नु भयो। मलाई जानकारी भएपछि एक हजार मिटरमा पठाएको छु। पुलबाट माथि पाँच सय मिटर र तल एक किलोमिटरमा खन्न नमिल्ने भनेर मैले भनेको छु।’ नदीको सतह तल गएकाले शिवगंगा नदीको पुल भासिएको थियो। सडक डिभिजन कार्यालयले पछि मर्मत गरेको थियो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस