सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय मावि सुखडको अतिक्रमित क्षेत्र खाली गराउन भौतिक संरचनामा डोजर

२०८१ जेठ ४, ०६:३३ कमल सावद

धनगढीः राष्ट्रिय मावि सुखडको ८ कट्ठा जमिन अतिक्रमण गरेर निर्माण गरिएका निजि संरचना खाली गराउने काम सुरु भएको छ।

राष्ट्रिय माध्यमिक विद्यालय, सुखडको आग्रहमा घोडाघोडी नगरपालिकाले विद्यालयको नाममा दर्ता जमिनमा निर्माण गरिएका भौतिक संरचना खाली गराउन डोजर लगाइएको छ। विद्यालयको जग्गा खाली गर्न पटक–पटक सूचना सार्वजनिक गर्दा पनि अटेरी गरेपछि स्थानीय प्रशासनको सहयोगमा शुक्रवारदेखि अतिक्रमित क्षेत्र खाली गर्न थालिएको छ।

घोडाघोडी नगरपालिका–१ का वडाध्यक्ष घनश्याम ओझाले सुदूरपश्चिमको एक मात्र विशेष विद्यालय निर्माणका लागि अतिक्रमित संरचनाहरू हटाउन थालिएको दाबी गरे। उनले भने, ‘सङ्घीय सरकारबाट योजना आएको छ। विशेष विद्यालय निर्माण गर्न २०७५ सालमा बजेट आएको छ। विद्यालयको खातामा रकम थन्किएको छ। विद्यालयको नाममा दर्ता रहेको जग्गामा विशेष विद्यालय निर्माण गर्ने योजना छ।’

घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माविको स्रस्ता नम्बर ९७ को ८ कट्ठा जग्गामा निर्माण गरिएका घर–टहराहरूमा शुक्रवारदेखि डोजर चलाउन सुरु गरिएको छ। विद्यालय व्यवस्थापन समितिको आग्रहमा घोडाघोडी नगरपालिकाले अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनामा डोजर चलाएको छ। वडाध्यक्ष ओझाले भने, ‘पहिला शान्तिनगरको जग्गा छनोट गरिएको थियो। त्यो जग्गा बाढीले बगाएको छ। अहिले स्थान परिवर्तन गरेका हौ।

विद्यालयले डिपीआर दिदैछ। हामीले टेन्डर गर्ने हो।’ विद्यालयमा पाँच वर्षदेखि अलपत्र परेको ९३ करोडको आयोजना निर्माणका लागि निजि घर तथा टहराहरू हटाउन थालिएको हो। २०७५ सालमा सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागबाट उक्त आयोजना विद्यालयमा परेको हो। तर, विद्यालयको खातामा २ करोड ५३ लाख रुपैयाँ जम्मा रहेको भएपनि जग्गा अभावका कारण आयोजना कार्यान्वयनमा गएको छैन।

२०७५ सालमा दुईवटा छात्रावास भवन, एकेडेमी भवन, एक चमेनागृह, एक फिजियोथेरापी भवन, बगैँचा, खेलमैदान, पर्खालसमेत निर्माणका लागि बजेट आएको छ। ती संरचनाहरू निर्माण गर्न विद्युतीय बोलपत्र गर्न विद्यालयले नगरपालिकालाई पत्राचार गरेको छ। तर, नगरपालिकाले स्टीमेटको कामसमेत पूरा गरेको छैन।

राष्ट्रिय माध्यमिक विद्यालय, सुखडका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले फरक क्षमता भएका विद्यार्थीका लागि आयोजना कार्यान्वयन गर्न जग्गा खाली गरिएको बताए। उनले भने, ‘उहाँहरूसँग आफै खाली गर्न समझदारी भएको हो। तर, उहाँहरूले खाली गर्नुभएन। हामीले आजबाट खाली गर्न थालेका छौ।

तीन दिनभित्र ८ कट्ठा सबै खाली हुन्छ।’ फरक क्षमता भएका सुदूरपश्चिमका २ सय विद्यार्थीहरूलाई आवाससहितको अध्यापनका लागि भवन निर्माण गरिने भएको छ। १३ जना कर्मचारी, चार जना चिकित्सक, ४० जना खाना पकाउने व्यक्ति र २० जना सरसफाइ कर्मचारी आयोजना मार्फत भर्ना गरिने तयारी छ। ती कर्मचारीबाट फरक क्षमता भएका विद्यार्थीलाई शिक्षा प्रदान गरिने विद्यालयले जनाएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस