सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन एमालेको अनेक बाहनाबाजी

२०८१ वैशाख २३, ०८:०९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेकै पार्टीले विश्वासको मत दिन आनाकानी गर्दै आएको छ।

बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन नेकपा एमालेले आनाकानी गर्दै आएको हो। प्रदेश सभा बैठकबाट विश्वासको मत आर्जन गर्न दुईदुई पटक नवनियुक्त मुख्यमन्त्री सोडारीले तयारी गरिसक्दा समेत मत दिन एमालेले अस्वीकार गरेको हो। मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले विश्वासको मत दिन भने मानिरहेको छैन्।

मत नदिनुको ठोस कारण एमाले आफैले दिन सकेको छैन्। जेठ ५ गतेभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत आर्जन गरिसक्नुपर्ने मुख्यमन्त्री सोडारीको अन्तिम समयसीमा हो। तर २१ र २२ गते विश्वासको मत आर्जन गर्न राखिएको प्रदेश सभाको बैठक भने बैठक नै बस्न नसकेर स्थिगित हुन पुगेको छ। 

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएको, बझाङमा उपचुनावबाट नवनिर्वाचित सदस्यले शपथ नै नलिएको, केन्द्रीय नेतृत्वसँग छलफल नभएकोलगायत कारण देखाउँदै विश्वासको मत दिन आनाकानी गरेका हुन्। शनिबार विश्वासको मत आर्जनका लागि प्रदेश सभा बैठक आह्वान गरिएका बेला उनी भने बिहानै काठमाडौं हिँडेका हुन्।

आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत दिन एमाले तयार नहुनुले सत्ता गठबन्धनभित्र आशंका बढेको छ। सत्ता गठबन्धनको वैशाख १८ को बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने निर्णय गरेको थियो। तर सो निर्णय एमालेबाटै पालना भएको छैन्। एमालेले यो वा त्यो बाहनामा कतै विश्वासको मत नदिएरै मुख्यमन्त्रीको पद धरापमा पार्ने खेल रचेको त होइन भन्ने चर्चा समेत हुन थालेको छ।

पहिलो चरणमा मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीले सोडारीलाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज (आइतबार) भएकाले सम्भावित जोखिमको आकलन गर्दै त्यसअगावै विश्वासको मत लिने तयारी उनले गरेका थिए। तर एमालेको असहयोगपछि उनको प्रयास विफल बन्न पुगेको छ।

एमाले विश्वासको मत दिन तयार नहुनुको अर्थ सोडारीलाई मुख्यमन्त्रीमा नरुचाएको र विश्वासको मत दिनैपर्ने बाध्यात्मक अवस्थामा पनि एकीकृत समाजवादीलाई गलाउन चाहेको चर्चा पनि नेताहरुबिच हुन थालेको छ। यदि यसो हो भने गठबन्धनमै गम्भीर संकट आउने संभावनालाई अझ बल पुग्नेछ। तर मुख्यमन्त्री सोडारी भने प्राविधिक कारणले शुक्रबार र शनिबारको तालिका परिवर्तन भए पनि विश्वासको मत पाउनेमा आशाबादी नै छन्।

उसो त सोडारीको मुख्यमन्त्री नियुक्तिमा पनि एमालेले आनाकानी गरेको थियो। केन्द्रीय सत्ता गठबन्धनमै दरार उत्पन्न हुने अवस्था आएपछि मात्र सोडारीलाई मुख्यमन्त्री मान्न एमाले तयार भएको थियो। सोडारीलाई एमाले, माओवादी, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसदको समर्थन थियो। त्यसबेलाका समर्थक दल तथा सांसदहरूको संख्याका आधारमा सोडारीले २८ मत पाउने अवस्था छ। ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ सांसदको आवश्यकता पर्छ।

कमेन्ट लोड गर्नुस