सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–स्याउले सडक कालोपत्र

२०८१ वैशाख २२, ०५:११ रासस

धनगढीः धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ।

योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो। गत आर्थिक वर्षमा बजेट अभावका कारण सडक कालोपत्रको काम अघि बढ्न सकेको थिएन। सो सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८०÷८१ मा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि सडक कालोपत्र गर्ने काम सुरु भएको थियो।

धनगढी–स्याउले सडकखण्डअन्तर्गतको १० किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको र स्याउले–हाटखोलीसम्म ३.४ किलोमिटरमा कालोपत्रको काम धमाधम भइरहेको उनले बताए। धनगढी–स्याउले सडकखण्ड १३ दशमलव चार र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए। उनका अनुसार चार खण्डमा सडक निर्माणको काम हुँदैछ।

डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रको काम पनि धमाधम भइरहेको छ। धनगढी–स्याउले सडकखण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ सालमा पीपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३.४ किलोमिटरमा कालोपत्र गर्न १६ करोड ४० लाखमा ठेक्का भएको इन्जिनियर रैखोलाले बताए।

दिपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले सडकको काम गरिरहेको छ। विसं २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अघि बढ्न सकेको थिएन। विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्भे गरी ‘ट्र्याक’ खोल्ने काम गरिएको थियो। त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकोमा पछि पूर्वपश्चिम राजमार्गको स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरमा काम भइरहेको आयोजना कार्यालयका इन्जिनियर रैखोलाले जानकारी दिए।

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्ट ट्र्याक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्यले गति लिन आयोजना कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस