सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी र तस्करबिच साँठगाँठ! सतर्क रहन डिआइजीको निर्देशन

२०८१ वैशाख १७, १२:१५

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा प्रहरी र तस्करबिच एकआपसमा साँठगाँठ हुने गरेको विषय कुनै नयाँ होइन्।

विशेष गरि सीमा क्षेत्रमा यस्तो काम बढी हुने गरेको छ। जिल्लामा नयाँ एसपी र डिएसपी आउँदा सुरुमा सुरक्षा सवालदेखि चोरी तस्करी शून्यमै झार्ने गरि प्रचार गर्ने गरिएको छ। तर केहि समयपछि भने उही पुरानै अवस्थामा एकपछि अर्को अपराध हुने गरेको छ। तीन महिनाअघि मात्र सुदूरपश्चिम प्रदेशको डिआइजी भएर आएका रबिन्द्र केसीले प्रत्येक जिल्ला प्रहरी कार्यालयमा पुगेर कसैसँग साँठगाँठ नगर्न निर्देशन नै दिनुपरेको छ।

यदि यस्तो कार्य हुने थिइन भने डिआइजी केसीले यस्तो निर्देशन दिनुपर्ने नै थिइन्। डिआइजीले प्रहरी उच्च अधिकृतदेखि तल्लो दर्जाका सिपाइलाई दिएको निर्देशन कत्तिको पालना हुन्छ त्यो भने हेर्न बाँकी छ। अर्को प्रहरीले कानुनअनुसार काम गर्दैन भन्ने ठूलो आरोप छ। डिआइजी आफैले पनि कञ्चनपुरदेखि बझाङ जिल्ला प्रहरीसम्मै पुगेर कानुनको पालना गर्न मातहतका निकायलाई निर्देशन दिइरहनु परेको छ।

यहाँ कार्यरत प्रहरी ठूलाबडा ठानिएकाहरुको अहिले पनि प्रभाव र दबाबबाट मुक्त हुन सकेको छैन्। सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी) केसीले यो विषयको अनुभुति गरेर मातहतका निकायलाई भनेका छन्, ‘अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसमको प्रभाव नराख्नु।’

यहाँ कार्यरत प्रहरी गैर–व्यवसायीक क्रियाकलापमा पनि संलग्न हुने गरेको आंशका हिजो जस्तै आज पनि गरिन थालेको छ। पदको दुरुपयोग गरेर अनुचित लाभ लिनु कानुन विपरीतको कार्य हो। प्रहरीबाटै यस्तो कार्य हुन सक्ने विषयमा सचेत हुँदै डिआइजी केसीले यदि गैर–व्यवसायिक क्रियाकलापमा कुनै प्रहरी कर्मचारी संलग्न भएको पाइए क्षमा नहुने नै चेतावनी दिएका छन्। 

समयमा फैसला कार्यान्वय र पेण्डिङ मुद्दाको अनुसन्धान नहुने अर्को समस्या प्रहरीभित्र छ। सेवाग्राहीलाइ पटकपटक प्रहरीमा धाउन बाध्य बनाउने काम मात्र हुने गरेको छ। गुनासो सुनुवाइमा बेवास्ता गर्ने र कतिपय अवस्थामा उजुरी समेत लिन इन्कार गर्ने गरेको हिजोदेखिको रोग अहिलेसम्म कायमै छ। यसकारण पनि डिआइजी केसीले भनेका छन्, ‘फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान र फरार अपराधी पक्राउ कार्यलाई विशेष प्राथमिकतामा राख्ने।’

सीमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनशीलताको नीति अपनाउनुपर्ने, अबैध काठ नियन्त्रण, नियमविपरीत नदीजन्य पदार्थको उत्खनन्, अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने कार्यलाई तीब्रता दिन उनले मातहतका प्रहरी प्रमुखलाइ निर्देशन नै दिएका छन्। गुण्डागर्दी, जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा आउन सकेको छैन्। यस कार्यमा कडाइका साथ प्रस्तुत हुन उनको निर्देशन छ।

प्रहरी आचरण विपरीतका कार्य नगर्ने, नागरिकको मानव अधिकारको सम्मान गर्ने, नागरिकमैत्री व्यवहार गर्ने, हिरासतमा रहेका थुनुवा ओसारपसारमा तथा अन्य कानुनी प्रक्रियामा समेत भरपर्दो सुरक्षा व्यवस्था मिलाउन समेत डिआइजीले निर्देशन दिनुपरेको छ। प्रदेशभित्र भएका ठूला अपराधको विषयमा प्रहरीले अझै प्रभावकारी रुपमा अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्यान सकेको छैन्। धनगढीमा ओमप्रकाश हत्याकाण्डदेखि अत्तरियामा नविल बैंक लुटपाटमा संलग्नको कुनै अत्तोपत्तो छैन्। साथै निर्मला पन्तको हत्या पनि रहस्यमै छ।

कमेन्ट लोड गर्नुस