सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया सम्पन्न 

२०८१ जेठ १, ०८:१० खबर संवाददाता

धनगढीः नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवको अवसरमा धनगढीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयको आयोजनामा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न भएको हो। 

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमानसिंह खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढी शाखाका सुवास आचार्य सहित जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय धनगढीमा स्थापना भएपछि बीमाको क्षेत्रमा भए गरेका काम र बीमाको अवस्था बारे प्राधिकरणका प्रादेशिक कार्यालय धनगढीका निर्देशक हृदयराज पण्डितले प्रस्तुति गरेका थिए। बीमा प्राधिकरणले स्थानीय सरकारहरूलाई बीमा अभिमुखीकरण, सरोकारवालाहरूसँग अन्तरक्रिया, प्रदेश सरकार र स्थानीय तहहरूसँग सहकार्यको प्रयास भएको बताइएको छ।

बीमा प्राधिकरणले तालिम तथा अभिमूखीकरण कार्यक्रम सञ्चालन गरेको, १२ वटा एफएम रेडियोबाट स्थानीय भाषामा बीमा सम्बन्धि जनचेतनामूलक सामग्री प्रसारण गरेको, विवाद समाधान, सहजीकरण  तथा न्यायीक कारबाही समेत गरेको पण्डितले बताए। बीमा प्राधिकरणले सुदूरपश्चिमका १४ पालिकामा अन्तरक्रिया र छलफल गर्नुका साथै कृषि तथा पशुपन्छी लघु बीमाका सरोकारवालासँग समेत छलफल र अन्तरक्रिया भएको बताइएको छ।

बीमा प्राधिकरणले पत्रकार, शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रिया र छलफल  गरेको बताइएको छ। छलफल तथा अन्तरक्रियामा बोल्दै राष्ट्र बैंक धनगढीका निर्देशक आचार्यले बीमामा कम पहुँच भएकाले बीमा कम्पनीहरू हरेक स्थानीय तहसम्म पुग्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

उनले सर्वसाधारणलाई बीमाले फाइदा गर्छ भन्ने कुराको विश्वास दिलाएर बीम  कम्पनीहरूले काम गर्नुपर्ने बताए।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमानसिंह खत्रीले बीमाको क्षेत्र अहिले फराकिलो भएको बताए। उनले बीमा व्यवसाय बढी रहेकाले प्रदेश सरकारले बीमको विकास र विस्तार गर्न आवश्यक पहल गर्ने बताए।

कमेन्ट लोड गर्नुस