सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनावी एजेण्डा बिर्सिदै सुदूरपश्चिमका सांसद

२०७६ जेठ ११, १२:०७ कमल सावद

सुदूरपश्चिम प्रदेशसभा सदस्य विरमान चौधरीले निर्वाचनका बेला उदासिपुरमा रहेको स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा विकास गर्ने आश्वासन बाडेका थिए। साविकको उदासीपुर स्वास्थ्य चौकीलाई स्तर गरी १५ शैयाको अस्पताल बनाउने चौधरीको चुनावी एजेण्डा थियो। तर चौधरीले निर्वाचित भएको डेढ वर्ष र प्रदेश सरकारकोे तेश्रो बजेट ल्याउने बेला सम्म पनि उक्त बाचा पुरा गर्न स्तरोन्नतीको प्रक्रिया नै सुरु गर्न सकेका छैनन्। चौधरीले चुनावताका निर्वाचन क्षेत्रमा बहुमुखी क्याम्पस सञ्चालनमा ल्याउने आश्वासन पनि दिए। तर बहुमुखी क्याम्पस निर्माणका लागि उनले कुनै पहल नै गरेका छैनन्।   प्रदेश सभा सदस्य चौधरी भने जमिन अभावका कारण क्याम्पस सञ्चालन गर्न समस्या भएको बताउछन्। ‘क्याम्पसका लागि आवश्यक जमिनको खोजिमा छौ,’ उनले भने, ‘जमिन पाए बहुमुखी क्याम्पस सञ्चालन गर्छौ।’ कैलालीको मोहना पारी भारतससंग सिमाना जोडिएको मोहनपुर, शिवरत्नापुर र हौसलपुलका जनतालाई धनगढीसंग जोड्न पुल निर्माण गर्ने पनि उनको चुनावी एजेण्डा थियो। तर एक मात्र झोलुङगे पुल निर्माणको चरणमा गइसकेको चौधरीले बताए। 

कैलाली निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रणबहादुर रावलले खक्रौला–लम्की सडकलाई कालोपत्रे गर्ने आश्वासन निर्वाचनका समयमा दिए। तर सडक कालोपत्रेको डीपीआर पनि तयार भएको छैन्। टिकापुर क्षेत्रका जनतालाई बर्दियासंग जोड्न संकटी घाटमा पक्की पुल निर्माण गर्ने आसवासन रावलको थियो। त्यो प्रक्रिमा समेत छैन्। टिकापुर क्षेत्रका सामुदायिक विद्यालयहरुको भौतिक सुधारका लागि वजेट विनियोज गर्ने उनको चुनावि एजेण्डामा थियो। केही सामुदायिक विद्यालयहरुमा विकास निर्माणका योजना दिएको कांग्रेस संसदिय दलका नेता समेत रहेका रावलको दावी छ। प्रदेश सरकारको अलमलका कारण विकास निर्माणमा चुनौती रहेको उनी जिकिर गर्छन्। तेस्रो आर्थिक बर्षको बजेटको तयारीमा प्रदेश सरकार  छ। विकास बजेट खर्च गर्ने संयन्त्र छैन्। सरकार आफै अल्झिरहेको रावलले बताए।  

प्रदेश सभा ससदस्यहरु राजनीतिक स्वार्थ र खुद्रे योजनाहरुमा केन्द्रीत भएकाले चुनावी नारा पुरा नभएको आरोप समेत लाग्ने गरेको छ। कार्यकर्ता खुसी पार्न उनीहरुले टुक्रे–टाक्रे योजनाहरु मात्र छनौट गर्दा ठुला योजनाहरु छुट्ने गरेका छन्। निर्वाचन क्षेत्रमा रहेर विकास निर्मााणमा सहभागि हुने प्रदेश सभा सदस्यहरुको संख्या पनि न्युन छ। धनगढीमा बसोबास गर्दै आएका उनीहरु कहिले कही मात्र निर्वाचन क्षेत्रमा जाने गरेका हुन्छन्। विभिन्न औपचारीक कार्यक्रमका लागि मात्र प्रदेश सभा सदस्यहरु केन्द्रित हुदै आएका छन्। निर्वाचित भएको डेढ बर्ष वितेपनि अहिले सम्म बाडेका आश्वासन पुरा गर्न प्रदेश सभा सदस्यहरुले मेसो समेत पाएका छैनन्। विकास र समृद्धिका थुप्रै आश्वासन वाडेका प्रदेशसभा सदस्यहरुले सो अनुसार काम गर्न नसकेको समेत स्वीकार गरेका छन्। 
विकास बजेट खर्चमा सुस्त देखिएको प्रदेश सरकार जस्तै उनीहरु पनि जनता माझ बाडिएका आश्वासन पुरा गर्न निकै पछाडी परेका हुन््। धेरैले सरकारको सुस्त गतीले नै प्रदेश सभा सदस्यले पनि अपेक्षा अनुसार काम गर्न नसकेको प्रतिक्रिया दिदै आएका छन्

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस