सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा १० महिनाको अवधीमा ४२ सयको शल्यक्रिया

२०७६ जेठ १०, ०७:४९ जनक विष्ट

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी स्थित सेती अस्पतालको सर्जरी वार्डको ४ नम्बर शैयामा पुग्दा एक जना दृष्टिवीहिन भेटिन्छन्। ती हुन चैत २३ गते अस्पताल भर्ना भएका बैतडीको सिल्लेगडाका बहादुर भाट। उनकी धर्मपत्नी गोमती पनि चैत २३ गते यता सेती अस्पतालमै छिन्। पेटमा काठले चोट लागेपछि नीजि क्लिनीकमा उपचार गराउँदा पनि निको नभएपछि गोमती गम्भीर अवस्थाका श्रीमानलाई लिएर सेती अस्ताल पुगेकी थिईन्। चिकित्सकले आन्द्राको शल्यक्रिया गरी २३ दिन सम्म आईसियुमा राखेका भाटलाई उपचार खर्च वापत सामाजिक सेवा ईकाईले १० हजार प्रदान गरेपनि आइसियु खर्च तिर्न नसक्ने भन्दै  डिस्चार्ज गरिदिन अस्पतालालाई आग्रह गरिएको थियो।

तर अस्पतालले आईसियु वापतको ५० हजार बढि रकम मिनाह गरिदियो भने डाक्टर, कर्मचारी र नर्सहरुले रकम संकलन गरी भाट दम्पतीलाई सहयोग गरेका थिए। दुर्भाग्य भाटको उपचारकै क्रममा उता बैतडीमा उनका बुबा भने संसार छोडेर हिडिसकेका छन्। बुबाको जीवनको अन्त हुँदा मुख सम्म हेर्न नपाएकोमा छोरा बुहारी चिन्तीत त छन् तर उनीहरुलाई नियतीले अस्पतालकै शैयामा बस्नुपर्ने बनाईदिएको छ।

गोमतीले श्रीमानको बाहिर उपचार गराउँदा सबै सम्पत्ती सकिएको सुनाईन् तर सेती अस्पतालमा कार्यरत डाक्टर, कर्मचारी र नर्सले रकम संकलन गरी गुन लगाएको कुरा बारम्बार दाहो¥याउछिन्। अस्पतालको शैयामा उपचार गराईरहेका बहादुर भाटले भने, ‘घरमा बुबा बित्नुभयो, आफ्नो जटिल अवस्थाले जान पाएन, मैले अन्तीम समयमा बुबाको मुख हेर्न नपाएपनि मेरा छोराहरुले त केही समय बुबा भन्न पाउने भए, मलाई नयाँ जीवन दिने डाक्टरप्रती आभारी छु।’ भाट  दम्पत्तीका दुई छोरा रहेका छन्।

पोलेको हरियो गहुँ (उमा) खाने बेला बाला समेत खाईएपछि गम्भीर भएका बझाङको मष्टा गाउँपालिकाका केदार पुरीको पनि केही दिन अघि शल्यक्रिया भएको छ। बाला पेटमा अड्किएर शरिर भरी संक्रमण फैलिएपछि चिकित्सकले उनको पेट चिरेर गहुँको बाला निकालेपछि अहिले पुरीको अवस्था समान्य बन्दै गएको छ। पुरी अहिले स्वस्थ्य हुदै गएका छन् भने आफूले नयाँ जीवन पाएको भन्दै पुरी डाक्टरलाई भगवानको संज्ञा दिन्छन्।

बैतडीका भाट दम्पती र बझाङका पुरी प्रतिनिधी पात्र भएपनि सेती अस्पतालले समान्य तथा जटिल अवस्थाका गरी बितेको १० महिनामा झण्डै ४२ सय अथात् ४ हजार १ सय ६६ जनाको शल्यक्रिया गरिसकेको छ। अस्तालका अनुसार चालु् आर्थिक वर्षको साउनदेखि बैशाख सम्म हाडजोर्नी र समान्य शल्यक्रिया गरी १० महिनामा ४ हजार एक सय ६६ विरामीको सफल शल्यक्रिया गरिएको हो।

जुन संख्या निकै उच्च भएको दावी गरिएको छ। आन्द्रा लगायतको शल्यक्रियामा संलग्न हुदै आएका सेती अस्पतालका कन्सल्टेन्ट सर्जन डाक्टर सुरेन्द्र बस्नेतले समान्य र जटिल प्रकृतिका गरी १० महिनाको अवधीमा गरिएको शल्यक्रियाको उक्त संख्या धेरै भएको बताए। उनले अञ्चल अस्पतालमा शल्यक्रियातर्फ नेपालमै सबैभन्दा बढि सेवा दिने सेती अस्पताल नै भएको जनाए। डाक्टर बस्नेतका अनुसार अस्पतालले अहिले समान्य हाईड्रोशिल, हर्निया,  एपेन्डीसाईट, पेट सम्बन्धी आन्द्रा कुहिईएको, आन्द्रा फुटेको, हार्डजोर्नी सम्बन्धीका सर्जरी र प्लाष्ट्रिक सर्जरी समेत गर्दै आएका छ।

नीजि अस्पतालमा यिनै शल्यक्रिया सेवा लिन समेत महङ्गो शुल्क तिर्नुपर्ने भएपनि सेती अस्पतालले समान्य शल्यक्रिया तीन सय ५० रुपैया, एक हजार पाँच सय, दुई पाँच सय र जटिल प्रकृतिका शल्यक्रिया तीन हजार पाँच सयमा गर्दै आएको छ।  अस्पतालले शल्यक्रिया तर्फ निकै स्तरीय सेवा दिएपनि समग्रमा अस्पतालको सेवा सुधार हुन नसकेको बताईदै आएको छ।

व्यवस्थापकिय पक्ष दरिलो नहुँदा र बाह्य हस्तक्षेप बढ्दै जादा अस्पतालले समस्या खेप्दै आएको छ। प्रदेश सरकारमा अस्पताल आएपछि समेत सुधारका लागि पर्याप्त प्रयास हुन सकेका छैनन्। अर्को तर्फ उपचारका क्रममा हुने लापरवाहीले पनि अस्पतालको सेवामाथि पटक–पटक प्रश्न खडा हुँदै आएको छ। व्यवस्थापकीय पक्षलाई अव्वल बनाउन सकियो र चाप अनुसार जनशक्ति, उपकरण र शैया थप भए २८ लाख प्रदेशवासीका लागि सेती अञ्चल अस्पताल बरदान सावित हुन सक्छ ? 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस