सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीमा दिएको दाबीले काम नगरेपछि कैलाशलाई भौतिक मन्त्रीको उपहार

२०८१ वैशाख ७, ०१:५९ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य कैलाश चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता पक्षीय कैलाशले मुख्यमन्त्रीका लागि दिएको दाबी प्रदेश प्रमुखले अस्वीकृत गरिदिएपछि निरास बनेका उनलाई प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री उपहार प्रदान गरिएको छ। एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेपछि कैलाशले भौतिक पूर्वाधार विकासमन्त्रीमा चित्त बुझाउनु परेको हो।

अध्यक्ष रञ्जिताले उनलाई मुख्यमन्त्री बनाउन चाहेकी थिइन्। सोहि अनुसार उनले प्रदेश प्रमुख समक्ष दाबी पनि पेस गरेका थिए। तर पार्टी संरक्षक रेशमलाल चौधरी पक्षीय नागरिक उन्मुक्तिकै अर्का सांसद लक्ष्मण किशोरले पनि मुख्यमन्त्रीमै दाबी पेस गरेपछि दुबै सांसदको दाबी पेस प्रदेश प्रमुखले अस्वीकृत गरिदिएका हुन्। कैलाशले त्यसको बदलामा मन्त्री हुने अवसर प्राप्त गरे भने लक्ष्मणकिशोर मुद्दा लड्न अदालत जाने मोडमा पुगेका छन्।

एउटै पार्टीबाट प्रदेश सभा सदस्य बनेका एक जना मन्त्री र अर्का न्यायको लडाइँका लागि अदालतसम्म पुग्नुपर्नेसम्मको परिस्थिती सुदूरपश्चिममा देखा परेको हो। अध्यक्ष रञ्जिता पक्षीय दुई सांसदमध्ये कैलाशले मन्त्री खान पुगेका छन भने अर्की सांसद टीका थापा मन्त्री नपाएको भन्दै आक्रोसित बनेकी छन्। उनले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन नै फिर्ता लिएको घोषणा गरेकी छन्। उनले गरेको यस्तो निर्णयबाट मुख्यमन्त्री अल्पमतमा परेका छन्।

पार्टी संरक्षक रेशम पक्षीय पाँच जना सांसदले भने वर्तमान मुख्यमन्त्रीलाइ समर्थन नै गरेनन्। रेशम पक्षीय सांसद कांग्रेसको लाइनमा छन्। नागरिक उन्मुक्ति पार्टीभित्र ठूलो विवाद छ। नेता, सांसद र कार्यकर्ता नै रञ्जिता र रेशम गरि दुई कित्तामा विभाजित छन्। यसरी पार्टीभित्र देखिएको आन्तरिक कलहकै कारण प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीबाट दुई जनाले मुख्यमन्त्रीका लागि गरेको दाबी अस्वीकृत गरेपछि कैलाश अन्ततः भौतिक पूर्वाधार विकास मन्त्रीमा चित्त बुझाउन बाध्य भएका छन्।

एकै दल (नाउपा)बाट कैलाश चौधरी (रञ्जिता पक्ष) र लक्ष्मणकिशोर चौधरी (रेशम पक्ष)ले फरक–फरक दलको समर्थनमा वैशाख २ गते मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर प्रदेश प्रमुखले दुईवटै दाबी रद्द गरिदिए। फागुन २१ गते माओवादी केन्द्र, एमालेसहित दलको नयाँ सत्ता समीकरण बनेपछि सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए।

नागरिक उन्मुक्तिलाई काखी च्यापेका शाहले नाउपाकै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका कैलाशलाई बर्खास्त गरेका थिए। गत फागुन २५ गते बर्खास्तीमा परेका उनै कैलाश एक महिनापछि भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका हुन्।

निवर्तमान मुख्यमन्त्री शाहले बर्खास्तीमा परेका माओवादी र समाजवादीका मन्त्रीहरूको ठाउँमा नाउपाकै घनश्याम चौधरीलाई आर्थिक मामिला, खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण, लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका थिए। कैलाशको ठाउँमा इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइयो।

कैलाश चौधरी मन्त्री हुँदै गर्दा उनकै पार्टीका ५ जना सांसद भने एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा आफूहरूको समर्थन नरहेको जिकिर गर्दै आएका छन्। उनीहरूले प्रदेश प्रमुखलाई विरोधको पत्र नै बुझाउन पुगेका छन्। रञ्जिता पक्षका कैलाश चौधरीले आफू दलको नेता रहेको दाबी गर्दै आएका छन्।

कैलालीको भजनी नगरपालिका–६ महादिउलीका ३८ वर्षीय सांसद कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका हुन्। उनी प्रदेश सभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज विनाडीलाई पराजित गर्दै निर्वाचित भएका हुन्। स्नातक तहसम्मको औपचारिक शिक्षा पूरा गरेका चौधरीसँग ८ वर्ष शिक्षण पेसामा रहेको अनुभव छ।

कमेन्ट लोड गर्नुस