झापामा दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Elephant1_G9iB1ReNAs_TNl1fSVlr3.jpg?itok=xzJ4Zj6Z)
झापाः झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा वयस्क हात्ती मृत भेटिएको छ। हात्तीलाई गोली हानेर मारेको पुष्टि समेत भएको छ।
मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलवार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो। अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधवार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए।
‘हात्तीको कानको छेउमा गोली प्रहार गरेर मारेको रहेछ,’ वन प्रमुख राईले भने, ‘हात्तीको अन्य भागमा गोली छिर्दैन, यो वन्यजन्तु शिकारी गर्ने समूहकै काम हुनुपर्छ। यसबारेमा वनले अनुसन्धान थालिसकेको छ।’ पोस्टमार्टम गर्दा तीन वटा गोली कानको छेउबाट दुलो बनाएर शरीरभित्र छिरेको देखिएको छ। गोली हड्डीभित्र छिरेकाले हाललाई निकाल्न सकिएन।
‘हात्तीको हड्डी निक्कै कडा हुन्छ। त्यसैले गोली निकाल्न समस्या भयो,’ वन प्रमुख राईले भने। ‘गोली निकाल्न सकिएको भए शिकारीले कुन बन्दुकले मारेको कुरा पनि बाहिर आउँथ्यो,’ उनले थपे। हात्तीलाई मारेर दुवै दाह्रा आराले काटेर केही भाग लगेको देखिन्छ। अरू भाग पोस्टमार्टम गरी निकालेका छौं। पुच्छरको रौँ पनि तानेर लगेको उनको भनाइ छ।
स्थानीयका अनुसार वैशाख २ गते मध्यरातपछि जंगलमा हात्ती कराउन छाडेको थियो। यो घटना त्यही दिनको हुनसक्ने अनुमान गरिएको उनले बताए। हात्तीको पोस्टमार्टम गरी बुधवार नै खाल्डो खनेर त्यही जंगलभित्र पुरिदिएको उनले बताए। हात्तीलाई गोली हानेर मारेपछि मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले घटनाको घोर भर्त्सना गरेको छ।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)