सुदूर नेपाललाई विश्वसँग जोड्दै

जर्मनीमा ‘कथा हुन् कथा हैनन्’ लोकार्पण

तस्वीरः मञ्जली श्रेष्ठ र एजीएम राइ
तस्वीरः मञ्जली श्रेष्ठ र एजीएम राइ
२०८१ वैशाख ५, ०३:३६

जर्मनीः नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते एनएफसी स्टुटगार्टले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदाप्रदानसँगै रमण जैसेरीको ‘कथा हुन कथा हैनन’को लोकार्पण गरिएको छ।

पुस्तकको अनावरण क्लबका अध्यक्ष डाक्टर पवनकुमार थापाले गरेका थिए। शब्द मिडिया प्रालीले नयाँ वर्ष २०८१ सँगै बजारमा ल्याएको कथा संग्रहमा १३ वटा कथा समावेश छन्। समाज र सम्बन्धका विभिन्न आयामहरुलाई विषय बनाएर लेखिएका यथार्थपरक कथाहरुमा सुदूरपश्चिमदेखि जर्मनीसम्मका विभिन्न परिवेशहरु समेटिएका छन्।

करीब डेढ दशकदेखि कथा, निवन्ध र गजलहरुमा कलम चलाउने जैसेरीले संग्रहको प्रथम पाण्डुलीपी करीब ७ वर्षअघि सकेका थिए। ‘सन् २००५ तिर आउँदा यो सहरमा नेपाली औलामा गन्न सकिने संंख्यामा थिए। एकएकामा तिहुन पाक्दा अर्कोले भात पकाउँथ्यो। जर्मनीका अन्य ठूला सहरमा नेपाली छन् भन्दा कस्तोकस्तो लाग्थ्यो।

अब हामी कबवेब जस्तो सांगितिक समूहलाई बोलाउन सक्ने भएका छौँ। नयाँ वर्षको कार्यक्रममा पनि यत्रो जमात भेला हुन पुगेको छ।’ थापाले किताब विमोचन पूर्व कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै क्लबका कामहरु र क्लबले पाएको साथको प्रशंसा समेत गरेका थिए। ‘त्यो पनि एक समय थियो।

आज यो पुस्तक लोकार्पण गर्दाको पनि एक समय हो। भोलिका दिनमा अझै हामी बाक्लिँदै नै जाऔँला।’ स्वावलम्बन ब्वाइज र ८५८६ जस्ता स्थानीय सांगीतिक समूहको प्रस्तुती समेत रहेको कार्यक्रममा एक सय बढी सहभागी थिए। विभिन्न नृत्य, गायन र खानपान सहितको कार्यक्रममा लोकार्पणपछि पुस्तक हस्ताक्षरसँगै वितरण समेत गरिएको थियो।

कमेन्ट लोड गर्नुस