सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट तीन बालबालिकाको मृत्यु

२०८१ वैशाख १, ०३:२४ खबर संवाददाता

डोल्पाः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ।

गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए। उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज निधन भएको प्रजिअ दाहालले बताए।

आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो। गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए। एकै गाउँका तीन बालबालिकाको आगलागीमा परेर मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताए।

त्रिपुरासुन्दरीले घाइते दुई बालबालिकालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाएको थियो। उनीहरुको उद्धार गर्ने क्रममा हेलिकोप्टर भाडामात्रै १६ लाख ५० हजार रुपैयाँ खर्च आएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए। यसअघि डोल्पामै गत मंगलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो। –रासस

कमेन्ट लोड गर्नुस