सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दोस्रो पटक फेरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ पनि गुणस्तरहीन

२०८१ वैशाख १, १०:३० कमल सावद

धनगढी : कैलालीको धनगढीमा दोस्रो पटक फेरिएका सडक बत्तीसमेत गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिका र सडक बत्ती प्रवर्धन आयोजना अन्तर्गत जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ दोस्रो पटक पनि गुणस्तरहीन जडान भएको पाइएको हो।

धनगढीको ट्राफिक चौराहदेखि कैलाली भन्सारसम्म र क्याम्पस चोक क्षेत्रको हुलाकी सडकमा दोस्रो पटक जडान गरिएका बत्ती गुणस्तरहीन भएपछि गुणस्तरीय बल्ब जडानका लागि उपमहानगरपालिकाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ। साथै, निर्माण कम्पनीले पाउन भुक्तानी समेत रोक्का गरिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘अहिले पनि तपाईहरूले देख्नु भएको होला, क्याम्पस चोकको लाइटहरू मधुरो देख्नु भएको होला। भन्सार क्षेत्रको पनि मधुरो बल्छ। एक पटक फेरेको हो। फेरि पनि उस्तै हालि दियो। ल्याब टेस्टमा फेल भयो। फेरि फेर्न भनेका छौ।’

‘उज्यालो धनगढी’ अभियानको दोस्रो चरण अन्तर्गत ट्राफिक चौराहदेखि भन्सार र क्याम्पस रोड क्षेत्रमा दोस्रो पटक जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ समेत गुणस्तरीय नभएको पाइएको हो। धनगढी उपमहानगरपालिकाको एकल लगानीमा जडान गरिएका बत्ती गुणस्तरीय नभएको भन्दै फेरिएको थियो। तर, दोस्रो पटक जडान गरिएका बत्तीहरूसमेत सम्झौता अनुसार नरहेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख हमालले बताए।

धनगढी उपमहानगरपालिकाले ठेक्का मार्फत ७६ लाखमा बत्ती जडान गर्न लगाएको हो। भन्सारदेखि चौराहसम्मको ६ लेन सडक र हुलाकी सडकको क्याम्पस चोक क्षेत्रमा जडान गरिएका बत्ती गुणस्तरीय नभएको भन्दै फेर्न भनिएको छ। दोस्रो पटक निर्माण कम्पनीले जडान गरेका ‘स्मार्ट स्ट्रिट लाइट’समेत गुणस्तरीय नभएको भन्दै भुक्तानी समेत रोक्का गरिएको छ। ड्राइभ इलोक्टोनिक्सले ६ लेन र हुलाकी राजमार्गको मिडियनमा जडान गरेका ७६ वटा बत्ती गुणस्तरीय नभएको भन्दै २ महिनाभित्र फेर्न भनिएको छ। पहिलो पटक कम गुणस्तरका बत्ती जडान गरेको कम्पनीले दोस्रो पटक पनि गुणस्तरीय बल्ब जडान नगरेपछि उपमहानगरले फेर्न भनेको हो। धनगढी उपमहानगरपालिकाका इलेक्ट्रोनिकल इन्जिनियर किशनकुमार शाहले २ महिनाका लागि समय थप गरिएको बताए। दोस्रो पटक पनि गुणस्तरीय बल्बहरू जडान नभएपछि फेर्न भनिएको उनले बताए। उनले भने, ‘चौराहदेखि भन्सार र क्याम्पस रोडको सडकमा जडान गरिएका बत्तीहरू फेर्न भनेका छौ। एकै टेन्डर हो। २ पटक म्याद थपेका थियौ। यो अन्तिम पटक हो। २ महिनाको समय दिन्छौ। बल्ब फेर्न पर्नेछ।’

ड्राइभ इलोक्टोनिक्स प्रालिले सम्झौता अनुसारका गुणस्तरीय ‘स्मार्ट स्ट्रिट लाइट’ जडान नगरेपछि धनगढी उपमहानगरपालिकाले भुक्तानी रोकेको छ। पहिलो पटक बत्ती फेर्न भनेको उपमहानगरपालिकाले दोस्रो पटक पनि बत्ती सुधार गरेपछि मात्र भुक्तानी दिने भनेको हो। रातिको समयमा बत्तीबाट आवश्यकताअनुसार उज्यालो प्रवाह हुने प्रविधिसहितका बत्ती जडानका लागि ठेक्का सम्झौता गरिएको थियो। तर, दोस्रो चरणको ‘उज्यालो धनगढी’ अभियानका क्रममा जडान गरिएका बत्तीले उज्यालोसमेत कम दिने गरेको छ।

सवारीको चाप राति अत्यधिक हुने बेला बल्बबाट बढी प्रकाश प्रवाह हुने र मध्यरातमा कम हुने प्रविधिसहितका बल्ब जडान गर्न ठेक्का गरिएको हो। रात परेपछि बत्ती आफैँ बल्ने र उज्यालो भएपछि निभ्ने सेन्सरसहित बत्ती जडान गरिएको छ। तर, ड्राइभ इलेक्टोनिक्स प्रालिले पटक–पटक उपमहानगरलाई झुक्याउने काम मात्र गर्दै आएको छ।

 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस