सुदूर नेपाललाई विश्वसँग जोड्दै

नैनीताल जीप दुर्घटनामा ज्यान गुमाएकाको शव नेपाल ल्याइँदै

२०८० चैत्र २८, ०४:३४ खबर संवाददाता

भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सोमवार राति सडक दुर्घटनामा परी ज्यान गुमाएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ।

बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको बताए। प्रमोदले मृतकका केही आफन्तहरु शव लिन नैनीताल पुगेका बताए। “अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ”, नैनीतालबाट प्रमोदले भने, “शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ।”

पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरु आज साझँसम्म नेपाल ल्याइदैँ छ। सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु, विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङका टोपबहादुर बस्नेत रहेका छन्।

बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारु र शान्ति थारु घाइते भएका र उनीहरुको भारतमै उपचार भइरहेको छ। सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस