सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चैते धानखेती घट्दै

२०८० चैत्र २६, ०५:०३ रासस

कञ्चनपुरः कञ्चनपुरमा चैते धानको उत्पादन राम्रो हुने गरेको भएपनि विगतको तुलनामा चैते धानखेती घट्दै गएको छ। विगतका वर्षको तुलनामा पछिल्लो केही वर्षयता चैते धानखेतीको क्षेत्र घट्दै गएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।

कुनैबेला कञ्चनपुरमा तीन÷चार सय हेक्टर क्षेत्रमा चैते धानखेती हुने गरेकामा अहिले उक्त क्षेत्रफल खुम्चिएर एक सय ५० हेक्टरमा पुगेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए। “विगतका वर्षभन्दा चैते धानको खेती घट्दो क्रममा छ। कुनैबेला तीन सय बढी हेक्टरमा खेती हुन्थ्यो”, उनले भने, “अहिले डेढ सय हेक्टर पनि पुग्न मुश्किल छ।” सिँचाइको सुविधा नहुँदा चैते धानखेती घट्दै गएको जोशीको भनाइ छ

“यो धानका लागि नियमित सिँचाइ हुने जमिन हुनुपर्छ। सबैतिर सिँचाइ सुविधा पुगेको छैन्। बोरिङ हुनेहरुले मात्रै निरन्तरता दिँदै आएका छन्”, उनले भने, “कतिपयले समयमै गहुँ काट्न नसकेर र खाली जग्गा नहुँदा पनि चैते खेतीबाट छुटिरहेका छन्।” कृषकले बेर्ना राख्नेदेखि रोपाइँ गर्नेलगायतमा समस्या झेल्न थालेपछि चैतमा धान रोप्न छाडिएको बताउँछन्।

जिल्लाको भीमदत्त नगरपालिकाको दक्षिणी क्षेत्र, वेदकोट, कृष्णपुर, बेलडाँडी, बेलौरी र पुनर्वासलगायत क्षेत्रमा चैते धानखेती बढीमात्रामा गरिनेमा अहिले कृषकको सङ्ख्या पनि घट्दै गएको केन्द्रका सूचना अधिकारी जोशीले बताए। चैतमध्यसम्म धान रोपीसक्नुपर्छ”, बेलडाँडी–५ का तीर्थ रोकायाले भने, “सिँचाइको सुविधा नहुँदा समस्या हुने गरेको छ। असारमा यो धान तयार हुने भएकाले बर्खामा बाली भित्र्याउन सकस हुन्छ।”

“अरु बेलाको धानको उत्पादन औसत चार मेट्रिकटन प्रतिहेक्टर छ। चैते धानको उत्पादन साढे चार मेट्रिकटनभन्दा बढी छ”, उनले भने, “यो धान भित्र्याएलगत्तै अर्को खेती गरेर दोहोरो फाइदा लिन सकिन्छ।” चैते धानखेती विशेष गरेर चिउरा तथा भुजाका लागि उपयुक्त मानिन्छ। स्थानीयस्तरमा उत्पादित धानले सहजै बजार नपाउँदा बिक्रीवितरणमा समस्या हुने गरेको कृषकको भनाइ छ। केन्द्र र प्रधानमन्त्री कृषि आयोजनाले संयुक्तरुपमा चैते धान प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस