सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरुको धमाधम नियुक्ति

२०८० चैत्र २६, ०९:१२ कमल सावद

धनगढीः बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरुको धमाधम नियुक्ति गरिन थालिएको छ।

जिल्लामा प्राथामिक तहका शिक्षकहरुको पदपूर्तिमा आर्थिक र राजनीतिक चलखेल हुने गरेको विषय बाहिर आएको छ। शिक्षक सेवा आयोगबाट जिल्लामा प्राथामिक तहमा ४५ जना शिक्षक सिफारिस भएका छन्। तर, स्थानीय तहमा रिक्त दरबन्दीहरु भने लुकाउन थालिएको छ।

शिक्षा विकास समन्वय इकाइ, बझाङले ४५ शिक्षकको पदपूर्तिका लागि शुक्रवार सिफासिर गरेको थियो। तर शिक्षकहरुले भने सिफारिस गरिएको क्षेत्रमा जान नपाएको गुनासो गरेका छन्। एक शिक्षकले भने, ‘आर्थिक र राजनीतिक आडमा रिक्त रहेका ठाउँमा पनि दरबन्दी लुकाउने काम हुँदैछ। शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकहरुलाई नियुक्ति दिइएको छैन।

आफ्ना मान्छेहरु र पैसा दिनेहरुलाई नजिकका विद्यालयमा नियुक्ति दिइएको छ। अस्थायी शिक्षकहरु पायक पर्ने ठाउँमा जान पाएका छैनौँ।’ जिल्लाका स्थानीय तहले अस्थायी शिक्षकहरुको अनुकूल हुने गरि सरुवा गर्दैछन्। शिक्षा विकास तथा समन्वय इकाइ बझाङले चैत १८ गते सार्वजनिक गरेको विवरणलाई तोडमोड गर्ने काम जारी नै छ।

बझाङमा अस्थायी करार शिक्षकलाई स्थानीय तहहरुले पायक परेको क्षेत्रमा अहिले पनि पदस्थापन गरेकाले शिक्षक सेवाबाट आएका स्थायी शिक्षकहरु समस्यामा परेका छन्। जिल्लामा ८४ शिक्षक अस्थायी करार सेवामा कार्यरत छन्। उनीहरु कार्यरत रहेको विद्यालयसहितको सूचि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले चैत १८ गते सार्वजनिक गरेको थियो। तर, उनीहरुले अध्यापन गराउदै आएको विद्यालयसमेत अहिले परिवर्नत भएकाले नयाँ स्थायी शिक्षकहरु समस्यामा परेका छन्।

शिक्षकहरुको पदस्थापनामा मनोमानी भएको आरोप लागेका बेला, शिक्षक, विद्यालय र स्थानीय तहहरुको सिफारिसका आधारमा नियुक्ति दिएको शिक्षा विकाइ समन्वय इकाइले बताएको छ। शिक्षा विकास समन्वय इकाइ, बझाङका प्रमुख बसन्तबहादुर सिंहले शिक्षकको पदस्थापनामा कुनै आर्थिक चलखेल नभएको दाबी गरे। स्थायी शिक्षकहरुलाई शिक्षक, विद्यालय र स्थानीय तहहहरुको पत्रका आधारमा पदस्थापना सुरु भएको उनको तर्क छ। उनले भने, ‘स्थायीको सूचना निकालेको छ।

पालिका छनौट गर्न थालेका छन्। स्कुल, पालिका सबैले दियो भने मात्र दिने हो। नत्र उहाँहरुले गर्ने हो।’ शिक्षक सरुवा प्रक्रिया रोकेर स्थायी शिक्षकहरुको पदपूर्ति गर्नुपर्ने हो। तर, शिक्षा विकास तथा समन्वय इकाइले आर्थिक र राजनीतिक शक्तिको आडमा अस्थायी शिक्षकको सरुवा र स्थायी शिक्षकहरुले रोजेको विद्यालय नदिने काम गरेको आरोप लागेको छ।

जिल्लाको सबैभन्दा बढी थलारा गाउँपालिकामा १३ शिक्षकको दरबन्दी रिक्त रहेको विवरण शिक्षा विकास तथा समन्वय इकाइको छ। बुङ्गलमा १२, केदारस्यू गाउँपालिकामा पाँच, वित्थडचिर गाउँपालिकामा दुई, छविसपाथिभेरा गाउँपालिकामा तीन, दुर्गाथली र मष्टा गाउँपालिकामा एक÷एक, जयपृथ्वी नगरपालिकामा एक, तलकोट गाउँपालिकामा पाँच र सुर्मा गाउँपालिकामा दुई पद रिक्त रहेको शिक्षा विकास तथा समन्वय इकाइको विवरण छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस