कञ्चनपुरमा ३४ ग्राम खैरो हेरोईनसहित एक युवक पक्राउ
धनगढीः कञ्चनपुरको लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरले ३४ ग्राम खैरो हेरोईनसहित एक युवक नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–४ बसपार्कबाट ३४ दशमलव १ ग्राम खैरो हेरोईनसहित सोही नगरपालिका–१५ निम्बुखेडा बस्ने ३० वर्षीय भुवन शाहुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायब निरीक्षक केशबराज जोशीको नेतृत्वको टोलीले शाहुलाई पक्राउ गरेको हो। उनको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ। शाहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।