सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्षेत्रीय सहरी विकासका सडकको ९० प्रतिशत काम पूरा

२०८० चैत्र २१, ०६:३७ कमल सावद

धनगढीः क्षेत्रीय सहरी विकास र कालिका कन्स्ट्रक्सनको बिचमा २०७७ असारमा १० दशमलव ६८७ किलोमिटर सडकको कालोपत्रको सम्झौता भयो।

तर, सम्झौताको म्याद पटक–पटक थप गर्दा पनि काम ९० प्रतिशत मात्र पूरा भएको छ। २४ महिनाभित्र काम सक्ने सम्झौता भएकोमा फेरि म्याद थप गर्न फाइल विभागमा पठाइएको छ। क्षेत्रीय सहरी विकासका इन्जिनियर सौरभ कलौनीले केन्द्र पठाइएको फाइल स्वीकृत नभएको बताए।

उनले भने, ‘प्रस्ताव अनुसार फाइल पठाएका छौ। तर, स्वीकृत भएको छैन।’ २४ महिनामा सडक निर्माणको काम पूरा गर्न कालिका कन्स्ट्रक्सनसँग ७६ करोड रुपैयाँमा सम्झौता गरिएको थियो। तर १० प्रतिशत काम अझै बाँकी छ। धनगढीको मुख्य सडकको बाँकी क्षेत्रमा कालोपत्रका लागि कम्पनीले तयारी गर्दैछ। कालोपत्रको काम १५ दिन भित्रमा पूरा हुने तर्क क्षेत्रीय सहरीको छ।

कालोपत्रको काम पूरा भएपछि खानेपानीका धारा जडान, खानेपानीको पाइपका कारण भत्किएको क्षेत्रमा कालोपत्र, बाँकी छोडिएको क्षेत्रमा कालोपत्र, विद्युतीकरण, फुटपाथ तथा मिडियटरको काम भने बाँकी छ। धनगढीमा सातावटा सडकको १० दशमलव ६८७ किलोमिटर कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। कात्तिकमा सडक निर्माणको थप गरिएको समयसमेत सकिएको छ।

परामर्श दाता कम्पनीले माघ १७ गतेसम्मका लागि समय थप गर्न सिफारिस गरेको छ। तर, आयोजना कार्यालयले केन्द्र पठाएको फाइल स्वीकृत भएको छैन। क्षेत्रीय सहरी विकासका इन्जिनियर सौरभ कलौनीले ९० प्रतिशत काम पूरा भएको बताए। उनले भने, ‘मुख्य सडक, स्टिट लाइट, बिग्रिएको फुटपाथको काम र पानीले भत्किएको ठाउँमा मर्मत गर्नुपर्ने छ।’

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर सडकसँगै २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटरको हुलाकी सडक–जाखोर ताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक एसियाली विकास बैँक (एडिबी)को ऋण सहयोगमा निर्माण गर्न ठेक्का गरिएको हो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस