सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहन्यालमा ११ करोडको लिफ्ट सिँचाई आयोजना अलपत्र

२०८० चैत्र २१, १०:५५ कमल सावद

धनगढीः कैलालीको मोहन्याल गाउँपालिका र अल्ट्रा सोलार एण्ड स्टिल इन्जिनियरिङबिच लिफ्ट सोलार सिँचाइ आयोजना निर्माणको सम्झौता भयो।

२०७७ सालमा ११ करोडको लागतमा मोहन्याल गाउँपालिका–६ मा सिँचाइका लागि आयोजना निर्माणको सम्झौता भएको हो। राष्ट्रिय माध्यामिक विद्यालयको छतमा सोलार जडान गरिएका छन्। कर्णाली नदीको पानी तान्न उपकरण जडान गरिएको हो। इलाका प्रहरी कार्यालय सोल्टाको प्राङ्गणमा कर्णालीको पानी तान्ने मोटर समेत राखिएको छ। तर गाउँपालिकाले भुक्तानी दिन नसकेपछि काम रोकिएको छ।

मोहन्याल गाउँपालिका–६ का पूर्व वडाध्यक्ष टीकाराम भण्डारीले वर्तमान सरकारको बेवास्ताका कारण समस्या भएको बताए। अहिलेको सरकारले बेवास्ता गरेको उनको तर्क छ। कर्णाली नदीको पानीले बाँझो जमिन सिँचाइ गर्ने योजना गाउँपालिकाको हो। तर, मोहन्याल गाउँपालिकाले बजेटको जोहो गर्न नसक्दा आयोजना अलपत्र परेको छ।

मोहन्याल गाउँपालिकाका ८ स्थानमा कर्णाली नदी, ठुलीगाड र बोटखोलाको पानी लिफ्टिङ गर्ने योजना छ। लिफ्टी गरेको पानीले पूर्व सोल्टा, रुइनीकोट, अजिङ्गरे, राजीरेक्चा, रागा मलेखा, बिर्खेत, पण्डोन लगायत जमिनमा सिँचाइको सुविधा पुगाउने योजना रहेको थियो। स्थानीय जयानन्द जोशीले सिँचाई आयोजनाको काम पूरा भए किसानलाई सहज हुने बताए। उनले भने, ‘सिँचाइ नभएकाले जमिन मरभूमि भएको छ।

सोलार आएका छन्। मोटर आएका छन्। तर, जडान गरिएका छैनन्। जडान नगरिएकाले समस्या भएको छ।’ गाउँपालिकाले बजेटको जोहो गर्न सकेको छैन। बजेट नभएकाले कम्पनीले भुक्तानी समेत पाएको छैन। गाउँपालिकाले चार करोड भुक्तानी दिन अझै बाँकी छ।

मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँदले पूर्व जनप्रतिनिधिहरुले बजेटको सुनिश्चिता नगरेर ठेक्का गरेकाले समस्या भएको दाबी गरे। उनले भने, ‘यो बजेट सुनिश्चितता नगरेर ठेक्का गरिएको रहेछ। यत्रो ठुलो योजनाको ठेक्का गर्दा पछिको विषयमा जानकारी राख्नुपर्ने हो। ठुलो रकमको ठेक्का गरिएकाले आर्थिक रुपमा समस्या भएको छ।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस