सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा रिक्त दरबन्दीमा ‘सिमसार गज’

२०८० चैत्र १६, ०२:३२ रासस

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको रिक्त दरबन्दीमा ‘सिमसार गज’लाई ल्याइएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट सिमसार गजलाई रिक्त दरबन्दीमा सरुवा गरेर ल्याइएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्णयअनुसार साढे तीन वर्षको भाले सिमसार गजलाई सरुवा गरी ल्याइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए। उनका अनुसार निकुञ्जमा दशवटा हात्तीको दरबन्दी रहेको छ। त्यसमा नाराणकली, सुर्तिकली, रुपकली र शुक्लाकली गरी चार पोथी तथा लवप्रसाद, सिद्धप्रसाद, शेषचन्द्र गज, नारायणप्रसाद र सिमसार गज गरी भाले पाँच हात्ती रहेका छन्। “दश दरबन्दीमा निकुञ्जमा एक थपिँदा नौ हात्ती भएका छन्।”, उनले भने, “एक हात्तीको दरबन्दी अझै रिक्त रहेको छ।”

निकुञ्जमा गस्तीको कार्य गर्न, वन्यजन्तुको अनुगमन गर्न, उद्धार गर्न र पर्यटक घुमाउनका लागि हात्तीको प्रयोग हुने गरेको छ। निकुञ्जको पिपरिया, शुक्लाफाँट र मालुबेलामा हात्तीसार रहेका छन्। हात्ती सारमै आवश्यकताका आधारमा हात्तीलाई राख्ने गरिएको छ। हात्तीको रेखदेखका लागि माउते, फणित र पछुवाको दरबन्दी रहेको छ।

दरबन्दीअनुसारको निकुञ्जलाई हात्ती रेखदेख गर्ने जनशक्ति अभाव छ। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज जङ्गली हात्तीको पनि बासस्थानका रुपमा रहेको छ। बर्सेनि भारतको पिलिभित हुँदै जङ्गली हात्तीको बथान निकुञ्जमा आउने गरेको छ। “निकुञ्जमा बाह्रै महिना २० देखि २५ को सङ्ख्यामा हात्तीको बथान रहने गरेको छ”, निकुञ्जका सूचना अधिकारी ऐरले भने, “त्यो समूह निकुञ्जमा समूह समूहमा विभाजन भएर बस्ने गरेको छ, त्यसमा छ भाले हात्ती रहने गरेका छन्।”

जङ्गली हात्ती निकुञ्ज हुँदै चुरे क्षेत्रसम्मको पुरानो जैविक मार्गमा हिँड्डुल गर्ने गरेका छन्। निकुञ्ज पुग्ने हात्तीका बथान भारतीय दुधुवा नेसनल पार्कसम्म पुग्ने गर्दछन्। दुधुवा नेसनल पार्क जाने पुरानो जैविक मार्गको बीचमा बस्ती बस्दा हात्तीलाई ओहोरदोहोर गर्न निकै अप्ठेरो हुने गरेको छ।

 

कमेन्ट लोड गर्नुस