सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जन जागृति विद्यालयले जग्गा भाडा बापतको ११ लाख पाएन

२०८० चैत्र १६, ११:०३ नारायण अवस्थी

धनगढी: धनगढी-१४ फूलबारी "डी"गाउँ स्थित जन जागृति माध्यमिक विद्यालयले जग्गा भाडा बापतको रकम पाउन सकेको छैन। विद्यालयले दस वर्षका लागि लिजमा दिएको जग्गाको गत वर्षबाट भाडा उठाउन नसकेको हो।

जन जागृति माध्यमिक विद्यालयको भोगचलनमा रहेको २३ बिघा जग्गा गोदावरी नगरपालिका-१ बिजौराको देव फार्म हाउसले लिजमा लिएको छ। वार्षिक ६ लाख ४७ हजार ४९६ रुपैयाँ भाडा दिने सर्तमा जग्गा लिजमा लिए पनि विद्यालयलाई फार्म हाउसले गत वर्षबाट भाडा रकम तिरेको छैन। गत वर्ष र यो वर्षको चैत महिनासम्म करिब ११ लाख रकम विद्यालयलाई बुझाउनुपर्ने भए पनि पटक-पटक ताकेता गर्दा पनि देव फार्म हाउसले विद्यालयलाई रकम नबुझाएको विद्यालयले जनाएको छ।

२०७५ मंसिर १७ गते विद्यालयको भोगचलनमा रहेको जग्गा देव फार्म हाउसले १० वर्षका लागि लिजमा लिएको हो। विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष डिलकुमारी खत्री र देव फार्म हाउसका प्रबन्ध निर्देशक रविनकान्त पन्तका बिच विद्यालयको जग्गा १० वर्षका लागि लिजमा दिने/लिने सम्झौता भएको छ। प्रति बिघा २८ हजार १५२ रुपैयाँले हुन आउने ६ लाख ४७ हजार ४९६ रुपैयाँ फार्म हाउसले विद्यालयलाई दुई किस्तामा बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ।

हरेक वर्षको कात्तिकमा पहिलो र चैत मसान्तमा दोस्रो किस्ता बुझाउने सर्त राखिएको भए पनि विद्यालयले भने गत वर्षदेखि भाडा रकम नपाएको प्रधानाध्यापक टेकबहादुर क्षत्रीले बताए। "२०७८ सम्म सम्झौताअनुसार रकम बुझाएको फार्म हाउसले २०७९ र २०८० मा बुझाउनुपर्ने रकम बुझाएको छैन। चैतसम्मको ११ लाख जति रकम विद्यालयले पाउनुपर्ने हो । तर, उहाँहरूले रकम दिनु भएको छैन," प्रधानाध्यापक टेकबहादुर क्षत्रीले भने। सम्झौतामा हरेक दुई वर्षमा १० प्रतिशतका दरले भाडामा वृद्धि हुने प्रावधान राखिएको छ।

तर, यो प्रावधानको कार्यान्वयन भने भएको छैन। दोस्रो पक्षले चाहेमा एक पटकका लागि ५ वर्ष थप गरेर देव फार्म हाउसले विद्यालयको जग्गा १५ वर्षसम्म उपभोग गर्न सक्ने सुविधायुक्त प्रावधान राखिएको छ। कृषि तथा कृषि पर्यटनमा आधारित व्यावसायिक क्रियाकलाप सञ्चालन गर्नका लागि जग्गा लिजमा लिने/दिने काम भएको छ।

विद्यालयले सम्झौताको सबै सर्तको पालना गरेको भए पनि देव फार्म हाउसले भने सम्झौताअनुसार विद्यालयलाई रकम बुझाएको छैन। तर, आफूहरूको पैसा पनि बजारमा उठ्न नसकेकाले रकम बुझाउन समस्या भएको फार्म हाउसका प्रबन्ध निर्देशक पन्तले बताएका छन्। उनले यो हप्ता भित्र विद्यालयलाई रकम बुझाउने बताएका छन्।

कक्षा ५ सम्म मात्रै स्थायी दरबन्दी रहेको जन जागृति माध्यमिक विद्यालयमा हाल १२ कक्षासम्म पढाइ हुन्छ। स्थानीय र राहत शिक्षक बाहेक पठनपाठनका लागि विद्यालयको आन्तरिक स्रोतबाट तलबभत्ता व्यवस्थापन गर्न ६ जना शिक्षक र एक जना चौकीदार नियुक्त गरिएको छ। जग्गाबाट प्राप्त हुने बाहेक विद्यालयको अन्य आन्तरिक आम्दानी छैन। देव फार्म हाउसले विद्यालयलाई रकम नबुझाउँदा शिक्षकहरूलाई तलबभत्ता दिन समस्या भएको प्रधानाध्यापक क्षत्रीले बताए। "हाम्रो विद्यालयमा चार जना शिक्षक मात्रै स्थायी छन्। कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा ६ जना शिक्षक र एक जना चौकीदार निजी स्रोतबाट भर्ना गरिएको छ," उनले भने, "विद्यालयको अन्य आम्दानी छैन। जग्गाबाट उठ्ने आम्दानी फार्म हाउसबाट नपाउँदा शिक्षक तथा कर्मचारीलाई तलब दिन समस्या भएको छ।"

देव फार्म हाउसका प्रबन्ध निर्देशक रविनकान्त पन्तलाई रकम बुझाउन ताकेता र पत्राचार गरेको विद्यालयले जनाएको छ। पन्तलाई ताकेता र पत्राचार गर्दा पनि विद्यालयले भने गत वर्षको बक्यौता रकम समेत पाउन सकेको छैन।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस