बल्झिएका घाउहरू
–कविता जोशी
वसन्तमा फक्रिरहेने
फूल मञ्जरी सङ्गै
लम्किरहेकी म
घर आँगनमै रमाउदै
खुसीका खित्ला सङ्गै
सिमलको भुवा सरि उड्दै
धुलो माटोमा रमाउदै बिताउने दिन सङ्गै
ओहो!!
अब त कलमको भारी बोक्ने दिन आएछ ।।
साना साना हातमा कलमको मसी मेट्न नसक्ने म
अब त एक सरो किताबको भारी सङ्गै
भविष्यको भारी उचाल्न लागे छु।
त्यो भारी गर्हाे भए पनि मलाई सहजै थियो
तर गा¥हो थियो त केवल साथिहरूको कठोर वचन
सर मेमहरूले अरुसङ्ग जुदाउदै गरेको
त्यो प्रतिस्पर्धी
उछिन्दै सफलता हात पारे पनि
अरूको शब्दबाट हार्दाको त्यो नमिठो पल
सायद मैले त बुझिन
तर मेरो मनको परिलाई धेरै दुखेछ क्यारे
भन्नुहुन्छन आजसम्म ती घाउ बिझाइरहन्छ !!
मलाई दुखाउछ त त्यो घाउ
जहाँ अबोध बालक सरी
निःशब्द हेरिरहेको क्षण
मेरो आँगनमा आएर
हावाको झोक्काले
मेरो वरिपरि घुम्दै
मलाई बलजफती
आफूतिर केन्द्रित गरेको पल
म अलमल परे....
उसको आकार
बिस्तारै छोपिदै गयो सुस्त, सुस्तगरी
अदृश्य महसुसले म झन अपेक्षित भए ।
म स्थिर हुन नसकेर जहाँ तहीँ दौडिरहेको थिए
बोज्दै गरेको गुनगुनाहट रोकेर
उसले म प्रति केही अपेक्षित
दृष्टि ओच्छ्यायो ??
उसको त्यो अनुरोध चिच्याहट सुनेर
म उतैतिर दौडिए, भागिरहे
बिस्तारै त्यो छाया,
अदृश्य हुँदै हुनहुनाउदै,
मेरो हृदयको पत्रपत्रमा स्पर्श गरेर
वेगले उड्यो, गयो
फेरि एक पटक,
धमिलो छाया बनेर
मतिर फर्किएर
बेस्सरी चिच्यायो......
अर्को ......उपहार तिमीलाई ।।
समयले मलाई देखाएको त्यो घाउ
यो निकै गहिरो छ ,पीडादायी
भतभत पोल्ने
अनि यो बेला बेला चस्किरहन्छ
अब भनन् म के गरु
म पनि छाती च्यातेर घाउ लुकाउ कि ?
फेरि त्यहीँ हावासङ्गै उपहार पठाउ कि?
भनन के गरुँ ?
कतैबाट त्यो हावाको गुन्जाहट आउदै गर्दा फेरि
आलो हुदै जान्छ त्यो घाउ ।
सकिन्छ भने लगेर जाउ न उपहार
म छट्पटीन्छु , अत्यासमा हुन्छु
कि लाग्छ भैदिवस न कदाचित्
यो सपनामा पाएको उपहार जस्तो
तर म त स्वयं घाइते छु
यो घाउ त बल्झाई रहन्छ।
अनि बल्झिरहेछ !!
अब भन म के गरु...... ??
मेरो घाउ, अपुरो घाउ ।।