सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाका नगरप्रमुख भन्छन्, ‘शिक्षामा व्यापक सुधार गर्छु’

२०८० चैत्र १४, १०:१० नारायण अवस्थी

धनगढीः कञ्चनपुरको शुक्लाफाँटामा चक्रपथ निर्माणको योजना नगरपालिकाले बनाएको छ।

नगरपालिकाको १२ वटै वडा जोड्ने हिसाबले चक्रपथ निर्माणको योजना अगाडि बढाइएको छ। अहिलेको निर्वाचित जनप्रतिनिधिको टिमले बाँकी कार्यकालमा चक्रपथ निर्माणसँगै शिक्षा र स्वास्थ्य सेवा सुधारको योजना बनाएको छ। नगर प्रमुख रणबहादुर महराले आधारभूत शिक्षा र स्वास्थ सेवामा सुधार गर्दै जग्गा नापजाँच र खानेपानी सुविधा विस्तारको काम सम्पन्न गर्ने लक्ष्य लिएका छन्।

नगर प्रमुख भएर जिम्मेवारी सम्हालेदेखि सिमित स्रोत साधनको परिचालन गरेर नगरको विकासमा लागेको बताउने महराले आफ्नो कार्यकालमा गर्नुपर्ने कामहरूको विवरण तयार गरेका छन्। नगर प्रमुख महराले आफ्नो पाँच वर्षे कार्यकालमा विद्यालय तहको शिक्षामा व्यापक सुधार गर्ने योजना बनाएको बताए।

विद्यालय सुधारको योजना कार्यान्वयन रहेको बताउने महराले आधारभूत स्वास्थ सेवा सुधार गर्न नगर अस्पताल चलाउने बताए। हाल निर्माणाधीन भवन सम्पन्न गर्दै डाक्टरसहितको स्वास्थ सेवा नगर अस्पतालबाट दिने नगर प्रमुख महराको योजना छ। यस्तै, अव्यवस्थित र सुकुम्बासीहरूको भोगचलनमा रहेको ऐलानी जग्गाक नापजाँचको काम सक्ने, चक्रपथ निर्माण र खानेपानीको पहुँच सबै नगरबासीमा पुगाउन काम गर्ने नगर प्रमुख महराले बताए।

‘पाँच वर्षसम्म शिक्षा र स्वास्थ्यमा सुधार गर्ने योजना छ। नगर अस्पतालबाट चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य बनाएको छु’, उनले भने, ‘पाँच वर्षभित्र ऐलानी जग्गाको नापजाँच सक्ने, चक्रपथ निर्माण र सबै नगरबासीलाई खानेपानी सुविधा उपलब्ध गराउने हिसाबले काम गरिरहेका छौँ।’ शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडा जोड्ने चक्रपथ निर्माणको काम अगाडि बढाएर सम्पन्न गर्नु नगर प्रमुख महराको महत्वाकांक्षी योजना हो।

करोडौं बजेट आवश्यक पर्ने करिब १७ किलोमिटर चक्रपथ संघ र प्रदेश सरकारसँगको साझेदारी निर्माण हुनेछ। चक्रपथको केही खण्डको ठेक्का भएर निर्माण हुन थालेको छ भने बाँकी सडक खण्डमा बजेट व्यवस्थापन गरेर काम अगाडि बढाउन महरा प्रयासरत छन्। शुक्लाफाँटामा बन्ने चक्रपथले नगरपालिकाको १ देखि १२ सम्मका बस्तीहरूलाई स्तरीय सडक सञ्चालसँग जोड्ने नगर प्रमुख महराले बताए।

‘शुक्लाफाँटामा १ नम्बर वडादेखि १२ नम्बर वडासम्म जोड्ने चक्रपथको लम्बाइ १७ करिब किलोमीटर छ। चक्रपथको केही खण्डको ठेक्का भएको छ भने केहीमा ठेक्का भएर काम अगाडि बढ्न सकेको छैन’, उनले भने, ‘आफ्नो कार्यकालमा चक्रपथ निर्माणको काम सम्पन्न गर्ने लक्ष्य छ।’

नगर प्रमुख भएर दुई आर्थिक वर्ष पूरा गर्न लागेका महराले स्थानीय तहको सरकारले गर्नुपर्ने काम निकै धेरै तर स्रोतसाधनको अभावको कारण जनताको माग पूरा गर्न समस्या भोग्नुपर्ने अवस्था रहेको बताए। संघ तथा प्रदेश सरकारबाट आउने सर्त सहितको बजेट बढी हुने र ती योजनाले स्थानीयका आवश्यकता पूरा गर्न नसक्ने समस्या रहेको उनको बुझाइ छ।

आफ्नो पाँच वर्षे कार्यकालमा इमानदार भएर नगरबासीको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताउने महराले स्थानीय तहको सिमित स्रोत साधन परिचालन गरेर नगरबासीको हितमा काम गर्ने बताए। शुक्लाफाँटा नगरपालिका ग्रामीण बस्ती भएकाले सडक पूर्वाधारदेखि खानेपानी, सहरी विकास, फोहरमैला व्यवस्थापन तथा तटबन्ध जस्ता क्षेत्रमा बढी काम गर्नुपर्ने देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस