सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १५ लाख ३२ हजार थान किताब पुगे, बाजुरा जिल्लाबाट वितरण सुरु

२०८० चैत्र १३, ०६:२८ कमल सावद

धनगढीः आगामी शैक्षिक सत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार एक सय ८५ थान किताब आवश्यक हुने अनुमान गरिएको छ।

जनक शिक्षा सामाग्री केन्द्रको धनगढीमा रहेको गोदाममा मङ्गलवारसम्म १५ लाख ३२ हजार एक सय ४८ थान किताब आपूर्ति गरिएको छ। हालसम्म ८० प्रतिशत किताब जनक शिक्षाले धनगढीसम्म ल्याएको हो। धनगढीको गोदाममा रहेका किताब मङ्गलवारदेखि बिक्री–वितरण सुरु गरिएको छ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले बाजुरा जिल्लाबाट किताब बिक्री–वितरणको काम सुरु गरेको बताए। उनले भने, ‘प्रादेशिक कार्यालयबाट नौवटै जिल्लामा वितरण गर्नेछौ। बाजुरा जिल्लाबाट सुरु गरेका छौ।’ पहाडी जिल्लामा बर्सातको समय सुरु भए पुस्तक ढुवानीमा समस्या हुने भन्दै बाजुरा जिल्लामा सबैभन्दा पहिले किताब पठाइएको छ। बाजुरामा ६ लाख १४ हजार सात सय ९८ थान किताबको आवश्यक्ता हुने अनुमान गरिएको छ।

बाजुरामा बुधवारसम्मै किताब बिक्री गरिनेछ। बाजुरामा किताब ढुवानीका लागि १६ प्रतिशत ढुवानी खर्चसमेत जनक शिक्षाले दिनेछ। व्यापारीले ९ प्रतिशतसम्म किताबमा कमिसन पाउनेछन्। जनक शिक्षा सामाग्री केन्द्रको तथ्याङ्क अनुसार दार्चुलामा एक लाख २१ हजार १२ थान किताब आवश्यक छ। दार्चुलामा चैत १५ र १६ गते किताब बिक्री गरिनेछ। बझाङमा एक लाख ७७ हजार २ सय १५ थान किताब आवश्यक छ। बझाङमा चैत १७ गते किताब धनगढीबाट पठाइने छ।

बैतडीमा १८ गते किताब पठाइनेछ। बैतडीमा एक लाख ७८ हजार तीन सय ६० थान किताब आवश्यक पर्ने देखिएको छ। अछाममा चैत १९ गते किताब पठाइने छ। अछाममा एक लाख ६५ हजार ८ सय ३१ थान किताब आवश्यक छ। डोटीमा एक लाख ३७ हजार ६ सय ९२ थान किताब आवश्यक छ। डोटीमा चैत २० गते किताब पठाइने छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, धनगढीका प्रमुख रामबहादुर कुँवरले पहाडी जिल्लालाई पहिलो प्राथामिक्ता दिएको बताए। सेटसहितको किताब पठाउने उनले बताए।

डडेल्धुरामा एक लाख तीन हजार तीन सय १० थान किताब आवश्यक छ। डडेल्धुरामा चैत २१ गते र कञ्चनपुरमा चैत २२, २३ र २४ गते किताब पठाउने तयारी छ। कञ्चनपुरमा २ लाख ८९ हजार एक सय ५७ थान किताब आवश्यक छ। कैलालीमा ६ लाख १४ हजार सात सय ९८ थान किताब आवश्यक छ। कैलालीमा चैत २५, २६ र २७ गते किताब बिक्री गर्ने कार्यतालिका बनाइएको छ।

दुई दिनसम्म प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पुस्तक ढुवानी गरिनेछ। साथै प्रदेशका अन्य जिल्लाहरूमा पनि पालैपालो पाठ्यपुस्तक ढुवानीको कार्यतालिका बनाइएको छ। चैत महिनाभित्रै १९ लाख १५ हजारभन्दा बढी थान पुस्तक बिक्री भइसक्ने शिक्षा सामग्री केन्द्र धनगढीको दाबी छ। जनक शिक्षा सामाग्री केन्द्र प्रादेशिक कार्यालय, धनगढीले चालु शैक्षिक सत्रमा १७ लाख ४१ हजार ७८ थान किताब बिक्री गरेको थियो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस